Tune to BFM 91.2|Biratnagar

विराटनगर भोलिदेखि लक डाउन

विराटनगर १० चैत । विराटनगर महानगरपालिकामा भोलीदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिनुभयो । ‘

सरोकारवालसबैको आव्हानमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेका हौँ,’ प्रमुख पराजुलीले भन्नुभयोे, ‘यसका लागि हामीले सबै व्यावसायिक संघसंस्थासित बसेर छलफल गर्याैं र उहाँहरू कै सहमतिमा लक डाउनको निर्णय लियौं ।’ महानगरपालिकाले यसअघि गत शनिबारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो ।

लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उहाले जानकारी दिनुभयो । लक डाउन गर्नेबारे व्यवसायीक संघ संस्थाका प्रतिनिधिहरुले सहमति गरेका कारण उहाहरुकै मागलाई सम्बोधन गदै महानगरले औपचारिकता मात्र पूरा गरेको पराजुलिको भनाई थियो ।

प्रमुख पराजुलीले नगर क्षेत्रमा लक डाउन गरिने भएपनि खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सञ्चालनमा रहने बताउनुभयो । अत्यावश्यक परेका यात्रुलाई मात्र सिटी रिक्सा र रिक्सा प्रयोग गर्न तथा चालकले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय पनि गरिएको छ । यसैवीच सुनसरीको धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि लकडाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले बताउनुभयो । लकडाउनका घोषणा भएसँगै धरानबाट विभिन्न स्थानमा छुट्ने कुनै पनि सवारी साधनहरु चलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button