Tune to BFM 91.2|Biratnagar

विराटनगरमा लकडाउनको चरम उलङ्घन

विराटनगर , १६ वैशाख । कोरोना भाइरसको संक्रमण जोखिम घटाउन सरकारले लकडाउन आह्वान गरे पनि विराटनगरमा केही दिनयता चरम उलङ्घन हुन थालेको छ ।

विराटनगरका गल्लीगल्ली र सडकहरूमा कारदेखि मोटरसाइकलहरू लाम लागेर गुडेको दृश्य देख्न थालिएको छ । बजारमा सिटी रिक्सामा समेत मानिसहरू आउजाउ गर्न थालेका छन् । गृहमन्त्रालयले मातहतका निकायलाई हिजो परिपत्र गरेर पासबाहेकका सवारीलाई कडाइ गर्न निर्देशन दिएको छ तर, विराटनगरको अवस्था ठिक विपरीत छ । सडकभरि मोटरसाईकल र गाडी दौडिएका छन् ।

प्रदेश १ को राजधानी विराटनगरको तीनपैनी चोक, मेनरोड, शनिबाट, महावीरचोक, बरगाछी र रोडशेष चोक जस्ता सडकमा समेत सवारी साधन बाक्लै संख्यामा गुड्न थालेको देखिन थालेको छ ।

यस्ता दृश्यका कारण विराटनगरमा लकडाउनको आभाष नै हुन छाडेको छ । मानिसहरू बिना रोकटोक सवारी पासबिनै पनि मोटरसाइकल र कारसमेत चलाउन थालेका छन् । साना गाडीहरू प्रशस्तै मात्रामा विराटनगरका सडकमा गुड्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले भने सवारी साधनका चालकलाई कारबाही गर्ने क्रमलाई बढाइएको दाबी गरेको छ ।

सरकारले अतिआवश्यक सेवाबाहेकका सवारीसाधन पासबिना गुड्न रोक लगाएको छ । तर, केही दिनयता विराटनगरको अवस्था भिन्न छ । मानिसहरू ग्वारग्वार्ती सवारी लिएर सडकमा निस्कन थालेका छन् । गल्ली र भित्री सडकहरूमा त लकडाउनको आभाष नै हुन छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button