Tune to BFM 91.2|Biratnagar

विराटनगरमा वायु प्रदूषणको अवस्था खतराको तह (रेड जोन) मा

विराटनगर, २२ पुस । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा वायु प्रदूषणको अवस्था खतराको तह (रेड जोन) मा रहेको छ । वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ० देखि ५० सम्मलाई स्वास्थ्यका हिसाबले अति उत्तम मानिन्छ र ५० देखि १ सयसम्मलाई सामान्य मानिन्छ ।

१०१ देखि १५० सम्मलाई खतराको सीमामा र १५१ देखि २०० सम्मलाई ‘रेड जोन’ अर्थात स्वास्थ्यका हिसाबले खतरा रहेको भन्ने बुझिन्छ । विराटनगरको एक्यूआई हिजो १९४ र आज बिहान १६९ रहेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिनु भयो । उहाँका अनुसार एक्यूआई उकालो लाग्नुनै वायु प्रदूषण बढ्नु हो । ठाकुरले केही दिनयता चिसो धेरै भएको, लामो समयदेखि वर्षा नभएको, धुलो र धुँवा अत्याधिक रहेको तथा सडक र उद्योग कलकारखानामा पनि ‘मुभमेन्ट’ बढेकाले प्रदूषण खतराको तहमा पुगेको जानकारी दिनु भयो ।

ठाकुरका अनुसार प्रदूषणका हिसाबले अहिले विराटनगरका बासिन्दा खतराको विन्दुमा छन् । केही दिनदेखि बादलले सूर्यलाई छेकेजस्तो विराटनगरको आकाश धुम्म छ । घाम लाग्न सकेको छैन । यसलाई विज्ञहरुले प्रदूषणकै असर भनेका छन् । बादल लागेर आकाश धुम्म भएकोभन्दा पनि प्रदूषणले यस्तो गराएको उनीहरुको भनाइ छ । वायु प्रदूषणको अवस्था पत्ता लगाउने ‘डिस्प्ले’ विराटनगर– ३ स्थित डिभिजन वन कार्यालयमा छ ।

संघीय सरकार अन्तर्गतको वातावरण विभागले गत वर्षको साउनदेखि वायु प्रदूषण मापन गर्ने ‘डिस्प्ले’ राखेको हो । यसअघि विराटनगर महानगरपालिकाको वातावरण महाशाखाले हेर्दै आए पनि अहिले त्यसलाई वन कार्यालयमा राखेर प्रदूषणको अवस्था मापन गर्ने काम भइरहेको छ । सहायक वन अधिकृतसमेत रहेका ठाकुरका अनुसार कोरोना भाइरसको संक्रमणका कारण गरिएको ‘लकडाउन’का बेला उद्योग कलकारखाना बन्द हुनुका साथै सवारी साधन नचलेकाले एक्यूआई कम थियो ।

प्रदूषण स्वास्थ्यका दृष्टिकोणले अतिनै जोखिम र हानिकारक हुने भएकाले गम्भीर बनेर सावधानी अपनाउनुको विकल्प नभएको ठाकुरले बताउनु भयो । खस्किएको वायुले कोरोना संक्रमितलगायत श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरुलाई बढी असर पुर्याउने विज्ञहरुको भनाइ छ । ठाकुरले विशेष गरेर बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढ्ने गरेका कारण घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button