Tune to BFM 91.2|Biratnagar

विराटनगरमा सरकारीसहित दुईवटा गाडीमा तोडफोड, छ जना पक्राउ

विराटनगर , २२ माघ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आह्वाह गरेको आमहड्तालका क्रममा विराटनगरमा दुईवटा गाडीमा तोडफोड गरिएको छ । सडकमा अराजक शैली प्रस्तुत गरिरहेका दाहाल–नेपाल समूहका कार्यकर्ताले एउटा सरकारी र अर्को भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका हुन् ।

प्रहरीका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी विराटनगर महानगरपालिका–२ तीनपैनी चोकमा तोडफोड गरिएको छ । बन्दका बेला सरकारी गाडी चलाएकोभन्दै बन्दकर्ताले लाट्ठीले प्रहार गर्दा गाडीको पछाडिको सिसा फुटेको छ । सडकमा गुडिरहेको गाडीलाई एक्कासि रोकेर आक्रमण गरिएको प्रहरीले जनाएको छ । तोडफोडपछि गाडीलाई प्रहरीले सुरक्षा दिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको छ ।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तोडफोडमा संलग्न छ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दाहाल–नेपाल समूहका मोरङ जिल्ला संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्री र महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुंगाना रहेका छन् । त्यस्तै तोडफोडामा संलग्न दाहाल–नेपाल समूहका कार्यकर्ता सारदा मैनाली, मीरा दाहाल, संगम चौधरी र चम्पा कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताउनु भयो । यसैबीच बन्दकर्ताले विराटनगर–१० रोडशेष चोकमा पनि एउटा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी तोडफोड गरिदिएका छन् । तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ । तोडफोड हुन थालेपछि गाडी त्यहाँबाट चालकले भगाएका कारण नम्बर भने तत्काल खुल्न नसकेको डीएसपी राईले बताउनु भयो । प्रहरी पुगेपछि तोडफोडमा संलग्नहरु फरार बनेको र उनीहरुको खोजी भइरहेको जानकारी राईले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button