Tune to BFM 91.2|Biratnagar

विराटनगरमा सुर्तीजन्य वस्तु निषेध अभियान

विराटनगर, २६ माघ । प्रदेश १ सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले आजदेखि शैक्षिक संस्थाको सय मिटर वरपर सुर्तीजन्य वस्तु बिक्री र प्रयोग निषेध अभियान थालेको छ ।

विराटनगरका ६ वटा उच्च मावि तथा क्याम्पसहरूमै गएर अभियान चलाइएको छ । क्याम्पस हाताभित्र विद्यार्थीलाई भेला गराई सुर्तीजन्य वस्तुको प्रयोगबाट हुने असर र कानूनी कारबाही बारेमा जानकारी गराइएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे र मेयर भीम पराजुली विद्यार्थीसँगै आसपासका पसलमा गएर सुर्तीजन्य वस्तु हटाउन लगाउनु भएको हो । नगरपालिका र मन्त्रालयका कर्मचारीले शैक्षिक संस्थाका वरपर फित्ता लगाएर १ सय मिटर नापेर चिन्ह लगाएका छन् ।

त्यसभित्र सुर्तीको सेवन गर्नेलाई पनि जरिवाना गरिने मोरङ प्रहरीले जनाएको छ । सुर्तीजन्य वस्तु बिक्री वितरण गरे कारवाही हुने पसलेहरूलाई बताउँदै मन्त्री घिमिरेले पसलमा भएका खैनी, गुट्खा, जर्दा लगायत वस्तु हटाउन लगाए । मन्त्री र मेयरले पसलहरूबाट सुर्तीजन्य वस्तु हटाउन लगाउँदा विद्यार्थीले नाराबाजी गर्दै कदमको स्वागत गरे ।

शैक्षिक संस्थाका प्रमुखहरूले आजबाट नै क्याम्पस आसपासमा सुर्ती निषेध हुने घोषणा गरे । क्याम्पसहरूले सुर्तीजन्य वस्तु निषेध गरिएका ब्यानर अनिवार्य राख्नु पर्ने व्यवस्था छ । शैक्षिक संस्था, सरकारी कार्यालय, मन्दिरहरूमा सुर्ती निषेधको सूचना नराखे कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button