Tune to BFM 91.2|Biratnagar

विराटनगरसहित आसपासका जिल्ला ठप्प

विराटनगर, १६ चैत । लकडाउनका कारण प्रदेश १ को राजधानी विराटनगरसहित आसपासका जिल्ला ठप्प छन् । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् ।

तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेको पाइएको छ । बेलुकाको समयमा मात्रै विराटनगरमा तरकारी, खाद्यान्न किनमेलका लागि मानिसहरु बजारमा निस्कने गरेको पाइन्छ । त्यसैगरी, औषधि पसलमा मानिसहरुको भिड लाग्ने गरेको छ । ग्यासको जोहोमा पनि मानिसहरु लागेका देखिन्छन् ।

विराटनगरमा लकडाउनको छैठौं दिनसम्म आइपुग्दा उपभोक्ताहरु ग्यासको जोहोका लागि भौतारिन बाध्य छन् । आधा सिलिण्डर ग्यासका लागि कुनै कम्पनीको ग्यास सहज पाएपनि कुनै कम्पनीको ग्यास बजारमा अभाव छ । एक कम्पनीको ग्यास अर्काे कम्पनीले नसाट्दा उपभोक्ता मारमा छन् ।

विराटनगरमा प्रेस, एम्बुलेन्स, खानेपानी, दुध, अस्पतालका सवारी साधन, प्रहरी, शवबाहन मात्र सडकमा गुडेका छन् । भित्री सडकमा भने केही फाट्फुट्ट मोटरसाइकल चलेका र साना किराना, चिया पसल खुलेका छन् ।

प्रहरीले चोक–चोकमा चेकजाँचलाई कडाई गरेको छ भने सडकमा देखिएका मानिसहरूलाई घरभित्रै बस्न आह्वान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button