Tune to BFM 91.2|Biratnagar

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा तोडफोड

विराटनगर, ६ माघ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा आज दिउँसो पुनः तोडफोड भएको छ । यसअघि पुस १९ गते पनि उक्त कार्यालयमा तोडफोड भएको थियो ।पटक ट्रेड युनियन दर्ता तथा नवीकरण प्रक्रियाका विषयमा भएको विवादलाई लिएर कार्यालयमा दोस्रो पटक पुनः तोडफोड गरिएको हो ।

घटनामा संलग्न विराटनगरस्थित हुलास मोटर्समा कार्यरत दुई जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोडफोड गर्ने विराटनगर महानगरपालिका–१३ का ६६ वर्षीय जोगीलाल यादव र विराटनगर–१६ का ४७ वर्षीय अर्जुनप्रसाद यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । तोडफोडबाट कार्यालयको उत्तरतर्फको झ्यालको सिसा फुटेको छ ।

उद्योग तथा कलकारखानामा कार्यरत मजदुर आवद्ध रहने ट्रेड युनियन दर्ता र नवीकरण प्रक्रियाका विषयमा विवाद हुँदा मजदुरहरु तोडफोडमा उत्रिएको श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत रामप्रसाद तिमल्सिनाले बताउनु भयो । मजदुरहरुले ट्रेड युनियन दर्ताका लागि कार्यालयमा निवेदन दिएको र त्यसकै प्रक्रिया अघि बढाउने क्रममा सनाखतका लागि बोलाइएका मजदुरहरु नियमविपरीतको माग गर्दै तोडफोडमा उत्रिएको उहाँको भनाइ छ ।

उहाँकाअनुसार मजदुरहरुले नेपालमा मजदुरी गर्दै आएका भारतीय नागरिकले पनि युनियनमा प्रवेश पाउनुपर्ने माग गरेका थिए । तर नियमले भारतीयलाई राख्न मिल्दैन भनेपछि उनीहरु तोडफोडमा उत्रिएको तिमल्सिनाले बताउनु भयो । त्यस्तै यसअघि पनि पुस १९ गते कार्यालयमा सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालिमा कार्यरत रमेश थापा र सुशील गच्छदारले तोडफोड गरेका थिए । उनीहरु अझैसम्म पक्राउ परेका छैनन् ।

तोडफोड गर्नेमध्ये थापा नेपाल कारखाना श्रमिक संघका प्रदेश १ अध्यक्ष र गच्छदार सुनसरी जिल्ला अध्यक्ष रहेको कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताउनु भयो । कार्यालयको सुरक्षार्थ हतियारसहितका प्रहरी कर्मचारी परिचालन गरिदिन आग्रह गरिए पनि अहिलेसम्म सुनुवाई नहुँदा फेरि तोडफोडको अर्को घटना भएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button