विराटनगर अस्पताल आजबाट सञ्चालन

विराटनगर, १९ साउन । आन्तरिक व्यवस्थापनसँग जोडिएका चिकित्सकलाई कोरोना देखिएपछि सिल गरिएको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको सेवा आज बिहानबाट सञ्चालनमा ल्याइएको छ ।

अस्पतालले आकस्मिक सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । ओपीडी (बहिरंग) सेवा भने हाललाई बन्द नै रहने भएको छ । अस्पतालको आन्तरिक व्यवस्थापनसँग जोडिएका चिकित्सकमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरेर सबै सेवा बन्द गरिएको थियो ।

चिकित्सकको अहिले काठमाडौंमा उपचार भइरहेको छ । आफ्नो पहिचान खुल्ने सबै विवरण लुकाएर स्वाब परीक्षणका लागि पठाएको र संक्रमण पुष्टि भइसकेपछि पनि ३८ घण्टासम्म सम्पर्कमा नआएको भन्दै उनको आलोचना भएको थियो ।

त्यसपछि नयाँ बिरामी भर्नामा रोक लगाउँदै अस्पताल साउन ८ गतेबाट सिल गरिएको थियो । अस्पताल सिल गर्दै त्यहाँका अरु चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा उनीहरुसँग सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरियो ।

परीक्षणका क्रममा विराटसँग आवद्ध १३ जनामा हालसम्म संक्रमण पुष्टि भइसकेको छ । सिल गरिएको ११ दिनपछि आकस्मिक सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासन प्रमुख पदम विडारीले बताउनुभयो ।

उहाँले आकस्मिक बाहेकका अन्य सेवा भने तत्कालका लागि बन्द नै रहने जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याइसकिएका कारण अस्पतालको आकस्मिक सेवा सञ्चालन गर्न दिइएको बताउनु भयो ।

अनुगमनका क्रममा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाइएको पाइएपछि आकस्मिक सेवा सञ्चालनको अनुमति दिइएको उहाँको भनाइ छ ।

स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गरिसकेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता अस्पतालले जनाएका कारण त्यहाँबाट अन्यत्र संक्रमण फैलन सक्ने अवस्था नभएपछि सञ्चालन गर्न दिइएको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button