Tune to BFM 91.2|Biratnagar

विराटनगर कोरोनाको ‘हटस्पट’

विराटनगर, १२ वैशाख । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका पछिल्लो समय कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्दै गइरहेको छ । विराटनगर पछिल्लो समय कोरोनाका कारण निक्कै आक्रान्त बनिरहे पनि नियन्त्रणका लागि उचित उपायको अवलम्बन हुन सकिरहेको छैन । पछिल्लो केही दिनयता विराटनगरमा कोरोना तीव्र रुपमा फैलिइरहेको हो । प्रदेशभरी दैनिक भेटिने संक्रमितमध्ये लगभग आधा विराटनगरका हुने गरेका छन् ।

कोरोना महामारीको चपेटामा परेको भारतसँगको खुला सीमाका कारण विभिन्न स्थानबाट अवैध आवतजावत नरोकिँदा विराटनगरमा संक्रमण तीव्र्र रुपमा फैलिइरहेको हो । हिजो प्रदेश १ मा एक सय ३६ जना नयाँ बिरामी थपिए । नयाँ संक्रमितमध्ये झन्डै आधा अर्थात ५९ जना विराटनगरका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, सङ्खुवासभामा नौ, धनकुटा र इलाममा तीन/तीन, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा एक/एक तथा प्रदेश १ बाहिरका नौ जनामा कोरोना पुष्टि भएको हो । स्थानीय प्रशासनले कोरोनाबाट जोगिन उच्च सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना फैलन नदिन सर्वसाधारण आफै सचेत हुनुपर्नेमा जोड दिनु भयो । संक्रमण फैलिएर अवस्था भयावह भएमा त्यसले ठूलो नोक्सान पुर्याउँछ भन्ने कुरा बुझ्न सबैले जरुरी रहेको उहाँको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोना नियन्त्रणका लागि सीमाबाट हुने अवैध आवतजावत रोक्न सुरक्षा निकाय सक्रिय भएर लागेको बताउनु भयो । उहाँले बजार, पसल तथा सार्वजनिक स्थलमा कुनै भिडभाड नगर्न र सामाजिक दूरी कायम राखेर गतिविधी गर्न सबैमा आग्रह गर्नु भयो । ‘कोरोनाका कारण ठूलो सङ्कट निम्तन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ,’ उहाँले भन्नु भयो, ‘सावधानी अपनाउँदा त्यसबाट जोगिन सकिन्छ ।’ एसपी खड्काले स्वास्थ्य मापदण्डको पालना र सावधानी यसबाट बच्ने मुख्य उपाय रहेको सुनाउनु भयो ।

मास्कको प्रयोग गर्ने, सावुनपानीले हात धुने, भिडभाड नगर्ने, सार्वजनिक समारोह तथा सभाहरु आयोजना नगर्ने गर्दा कोरोना फैलने जोखिम कम हुने एसपी खड्काको भनाइ छ । प्रदेश १ मा हालसम्म ३१ हजार तीन सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ । सङ्क्रमण देखिएकामध्ये २९ हजार नौ सय ४४ जना कोरोनामुक्त बनिसकेका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको सङ्ख्या आठ सय ९९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button