Tune to BFM 91.2|Biratnagar

विराटनगर बाल सुधार गृहबाट २३ जना बालबालिका छुटे

विराटनगर, २२ चैत । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमका कारण बाल सुधार गृह विराटनगरमा राखिएका २३ जना बालबालिकालाई रिहा गरिएको छ । बाल सुधारगृहमा अत्यधिक चाप भएपछि कम सजाय भएकालाई अदालतको अनुमतिले छाड्ने प्रक्रिया थालेको थियो ।

यही प्रक्रिया अन्तर्गत आज सम्म अदालतको अनुमतिले २३ जना बालबालिका छुटेको बाल सुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले जानकारी दिनुभयो । उनका अनुसार मोरङबाट सबैभन्दा धेरै १४ बालबालिका छुटेका छन् ।

मोरङपछि सुनसरीबाट ५ जना बालबालिका र भापाबाट चार जना बालबालिका छुटेका हुन् । विभिन्न अपराधमा संलग्न रहेर अदालतको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका सबैभन्दा धेरै रिहा भएको चौहानको भनाइ छ । रिहा भएका बालबालिकालाई अभिभावकलाइ जिम्मा लगाएर घर पठाइएको उहाँले बताउनुभयो ।

विराटनगरमा रहेमा बाल सुधारगृहमा एक नम्बर प्रदेशका १४ जिल्लाका विभिन्न अपराधमा संलग्न रहेका बालबालिका रहेका थिए । २३ जना छुटेपछि अहिले एक सय ४२ जना बालबालिका गृहमा छन् ।

महान्यायाधीवक्ता कार्यालयले कारागारमा कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै चैत ६ गते एक वर्षसम्म कैद सजाय पाएका कैदीलाई रिहा गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button