Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरपालिकामा आज थपिए १८ संक्रमित

विराटनगर, १३ साउन । विराटनगर महानगरपालिकामा आज कोरोना भाइरसको संक्रमण थप १८ जनामा देखिएको छ ।

स्वाब संकलन गरेर कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १३ पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो । १८ जना नयाँ संक्रमित थपिएसँगै समुदायस्तरमा कोरोना फैलिएको थप पुष्टि भएको विराटनगर महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक हैदर अलीले बताउनु भयो ।

संक्रमण देखिएका मध्ये विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा कार्यरत सात जना, महानगरका विभिन्न वडामा बसोबास गर्ने आठ जना र झापाका दुई जना रहेको जानकारी अलीले दिनुभयो । एक जनाको ठेगाना स्पष्ट छैन ।

मोरङ मात्रै लेखिएको हुनाले उनी कुन ठाउँका हुन् भन्ने पहिचान गर्ने क्रममा रहेको महानगरले जनाएको छ । हालसम्म विराट नर्सिङ होममा आवद्ध रहेका १२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यस अघि पहिलो पटक गत मंगलबार अस्पतालका बरिष्ठ चिकित्सकमा संक्रमण देखिएको थियो । ६५ वर्षीय चिकित्सकमा संक्रमण देखिएपछि महानगरले अस्पताल सिल गरेर उनको सम्पर्कमा रहेका र अस्पतालमा कार्यरतको स्वाब परीक्षणका लागि संकलन गरेको थियो । त्यस क्रममा हिजो चार जना स्टाफ नर्समा संक्रमण देखिएको थियो ।

त्यहाँ कार्यरत अरु सात जनामा आज पुष्टि भएको हो । सात मध्ये एक जना संक्रमित चिकित्सकको घरका कामदार हुन् । महानगरमा यस अघि ६७ जनामा संक्रमण पुष्टि भइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button