Tune to BFM 91.2|Biratnagar

विराटनगर मालपोतले अनलाइन प्रणालीमार्फत भू–सेवा केन्द्र सुरु गर्ने

विराटनगर, ३० भदौ । मालपोत कार्यालय विराटनगरले आगामी कात्तिकदेखि अनलाइन प्रणालीमार्फत भू–सेवा केन्द्र सुरु गर्ने भएको छ । विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अनलाइनबाट केन्द्र सञ्चालनमा ल्याइने जनाएको हो । कार्यालय प्रमुख लोकबहादुर भण्डारीले भू–सेवा केन्द्रको सुरुवातपछि मालपोतको लेखापढी सेन्टर भू–सेवा केन्द्रमा रुपान्तरण हुने बताउनु भयो । उहाँका अनुसार जग्गासम्बन्धी सम्पूर्ण काम अनलाइन प्रविधिबाट हुने छ । मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरू गर्नका लागि सबै फाइलहरू कम्प्युटराइज गर्ने काम भइरहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनु भयो ।

फाइलहरू कम्प्युटरराइज भइसकेपछि भू–सेवा केन्द्रमार्फत हस्तलिखित जग्गाधनीपूर्जा विस्थापित हुने उहाँको भनाइ छ । मालपोत कार्यालय अत्यन्तै अस्तव्यस्त भएको स्वीकार्दै प्रमुख भण्डारीले यसलाई सुधार गर्ने कामलाई तीव्र पारिएको बताउनु भयो । उहाँका अनुसार मालपोत कार्यालय परिषरमा हरियाली पार्क निर्माण गर्ने, मालपोतका शौचालय व्यवस्थित पार्ने लगायतका भौतिक पूर्वाधार सुधारका काम थालिएको छ । कार्यालयभित्र सरकारी कागजातमा कर्मचारीबाहेक अन्यलाई पहुँचमा आउन नदिन कार्यालय चनाखो रहेको उनको भनाइ छ । जसका लागि कार्यालयले टोकन प्रणाली लागू गर्ने तयारी गरिरहेको छ ।

पत्रकार सम्मेलनका क्रममा प्रमुख भण्डारीले मालपोत कार्यालय विराटनगरले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button