Tune to BFM 91.2|Biratnagar

विराटनगर विमानस्थलको केरा खेती हटाइयो

विराटनगर, ७ भदौ । विराटनगर विमानस्थलभित्र १४ बिघा क्षेत्रफलमा लगाइएको केराखेती हटाइएको छ । केराखेती हटाउँदै त्यहाँभित्र रहेका वन्यजन्तुको स्थानान्तरण पनि थालिएको छ । हवाई एवं मानवीय सुरक्षाका दृष्टिले अति नै संवेदनशील मानिने विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलको तारघेरा गरिएको निषेधित क्षेत्रभित्र केराखेती लगाइएको थियो ।

विमानस्थलमा गरिएको केराखेती वन्यजन्तुका लागि प्राकृतिक बासस्थान एवं आश्रयस्थल बन्दा हवाई उडान असुरक्षित बनिरहेको थियो । विराटनगर विमानस्थल प्रमुख उत्सवराज खरेलले केराखेती हटाइसकेर वन्यजन्तुको सुरक्षित स्थानान्तरण थालिएको जानकारी दिनु भयो । विमानस्थलभित्र नीलगाई, स्याल, जंगली कुकुर, गोरो लगायतका वन्यजन्तु छन् । खरेलका अनुसार कोसी टप्पु वन्यजन्तु आरक्षको संयोजन एवं नेपाली सेना र विमानस्थलका कर्मचारीको सहयोगमा चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले वयस्क भाले र पोथी गरेर दुईवटा नीलगाईलाई नियन्त्रणमा लिएर स्थानान्तरण गरिसकेको छ । नीलगाईलाई पर्सा वन्यजन्तु आरक्षमा लगेर सुरक्षितसाथ छाडिएको उहाँको भनाइ छ ।

विमानस्थल प्रमुख खरेलले तारघेराभित्र अरु पनि नीलगाई छन् कि भनेर खोजी भइरहेको बताउनु भयो । ‘केराखेतीका कारण वन्यजन्तुको आश्रयस्थल बन्दा हवाई उडान एवं अवतरणमा अवरोध पुग्ने अवस्था आएकाले जहाज दुर्घटनाको ठूलै जोखिम थियो,’ उहाँले भन्नु भयो, ‘त्यही भएकाले विमानस्थलनजिकको झाडीजन्य बोटविरुवा हटाउँदै आश्रयस्थल नष्ट गरेर वन्यजन्तुको सुरक्षित स्थानान्तरण थालिएको हो ।’ उनका अनुसार विमानस्थल बाहिरको उखु खेती एवं बालीनालीले पनि वन्यजन्तुलाई लुक्न, बस्न, चर्न र आश्रय लिन सजिलो भइरहेको छ ।

नीलगाईको स्थानान्तरण सकिएपछि विमानस्थलभित्र रहेका अरु वन्यजन्तुको व्यवस्थापनका लागि पनि कोशिष गरिने खरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button