Tune to BFM 91.2|Biratnagar

विराटनगर विमानस्थल पीडितद्धारा वडाध्यक्षदेखि मन्त्री सम्मको ध्यानाकर्षण

विराटनगर २१ माघ। विराटनगर विमानस्थलका पीडितहरुले उचित मुआव्जाको माग गरेका छन् । उनीहरुले विमानस्थल विस्तार गर्दा उचित क्षतिपुर्तीको माग गर्दै मंगलबार विराटनगर महानगरपालिकाका वडाध्यक्ष देखि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल सम्मको ध्यानाकर्षण गराएका छन् ।

मन्त्री ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांकन तथा वितरण समितिलाई मागहरुको उचित सम्बोधनका लागि आवश्यक निर्देशन दिने बताउनुभयो । विराटनगर विमानस्थल पीडितहरुको संघर्ष समितिका संयोजक वेदराज पौडेल लगायतको टोलीले मन्त्री ढकाललाई भेटी ८ बुँदे ज्ञापन पत्र बुझाएको थियो । मन्त्री ढकालले स्थानीय स्तरबाटै समस्या समाधान हुने बताउनुभयो ।

संघर्ष समितिले विमानस्थलको विस्तारबाट विस्थापित हुनेहरुले बसेकै स्थान जतिकै शहरी क्षेत्र र सुविधा सम्पन्न स्थानमा घर घडेरी किन्न सक्ने गरि मुआब्जाको व्यवस्था गरिनु पर्ने, विमानस्थल विस्तार गर्दा अधिग्रहण हुने घडेरीका लागि अधिकतम बीस लाख रुपैयाँ प्रतिधुर र पक्की घरको प्रति स्क्वायर फुट चार हजार पाँचसय रुपैया मुआब्जा दिन माग गरेका छन । उनीहरुले विमानस्थल विस्तारको क्रममा पर्ने आधा घर र आधा जमिनका हकमा पूरै जमिन र पुरै घरको मुआब्जा दिनु पर्ने माग अघि सारेका छन् ।

यसअघि पूर्वतर्फको विमानस्थल विस्तारका क्रममा कतिपय घर आधाभन्दा बढी भाग परेकाले बस्नै नमिल्ने भएको समेत समितिका संयोजक पौडेलले बताउनुभयो । विमानस्थलबाट विस्थापितहरुले विस्थापित भएपछि कतै गएर एकमुष्ठ रुपमा जमिन किनी त्यसलाई टुक्र्याएर एकै ठाउँ बस्न चाहेमा त्यसको कित्ताकाट हुने ब्यवस्था मिलाउन र छुट्टछुटै बस्न चाहेमा समेत जमिन कित्ताकाटको व्यबस्था मिलाउन माग गरिएको पौडेलले बताउनुभयो।

संघर्ष समितिल मुआब्जा निर्धारण तथा वितरण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई भेटी पीडितहरुको तर्फबाट ८ सुत्रीय माग पेश गरेको छ । प्रमुख जिल्ला अधिकारी निरौलाले पीडितहरुको तर्फबाट पेश भएको माग प्रति आफु सकारात्मक रहेको बताउनुभयो । विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले बिमानस्थल बिस्तार हुदा विस्थापित हुने पीडितहरुलाई खुसी बनाउने गरि मागहरुको सम्बोधन गर्न आफुलागि पर्ने बताउनुभयो ।

नागरिक उडड्यन प्राधिकरण विराटनगर विमानस्थल प्रमुख उत्सवराज खरेलले पीडितहरुको माग बुझ्दै नियमले भ्याएसम्म मागहरुलाई सम्बोधन गर्न आफुले पहल गर्ने उल्लेख गर्नुभयो । विराटनगर महानगर पालिका वडा नम्बर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले यस अघि विमानस्थलले अधिग्रहण गरेको जमिनबाट विस्थापितहरुलाई चित्तबुझ्ने गरि मुआब्जा र क्षतिपूर्तिको सिफारिस गरेकाले पछिल्लो समयमा पनि आफुले सबैको चित्तबुझ्ने गरि ब्याबहारिक ढंगले मुआब्जाका लागि सिफारिस गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button