Tune to BFM 91.2|Biratnagar

विराटनगर ५ को हरित पार्क विवादमा

विराटनगर, २४ असार । विराटनगर महानगरपालिका–५ केशलिया खोलाको डिलमा निर्माणाधिन अवस्थामा रहेको हरित पार्क विवादमा तानिएको छ ।

प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँको लागतमा आर्थिक वर्षको अन्त्यमा हतारहतार गरेर पार्क निर्माण भइरहेको छ । पार्कको हिसाबकिताब अपारदर्शी रहेको भन्दै उपभोक्ता समितिमा आवद्ध भएकाबीच नै विवाद बढेको छ ।

मन्त्रालयले उपभोक्ता समिति गठन गर्दै वैशाखमा सम्झौता गरेर पार्क निर्माणको काम अघि बढाएको थियो । खोलाको डिलमा पार्क बनाइएको भन्दै यस अघि नै विरोध भएको थियो । खोलाले कटान तीव्र पारेर पार्क निर्माणस्थल बगाउने अवस्था रहे पनि बजेट सक्न धमाधम काम अघि बढाइएपछि स्थानीय असन्तुष्ट र आक्रोसित बनेका छन् ।

स्थानीय अशोक मण्डलले तटबन्ध बनाएर खोलो नियन्त्रण गरेपछि मात्रै पार्क बनाउनु पर्नेमा त्यसो नगरिएको बताउनु भयो । तटबन्ध नगरिएको र पूर्वतर्फ कटान तीव्र पारेका कारण खोलाले पार्क नै बगाउने अवस्था आएको उहाँको भनाइ छ ।

मनोज खड्काको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्दै एक विघा १२ कट्ठा क्षेत्रफलमा पार्क निर्माणको काम भइरहेको छ । स्थानीय बासिन्दाले पटकपटक जनप्रतिनिधि र मन्त्री समक्ष तटबन्धको कुरा राखिसकेका छन् ।

मुख्यमन्त्री शेरधन राईदेखि समस्याको बारेमा सुनेका सबैले तटबन्ध बनाउने आश्वासन दिएको लामो समयसम्म पनि कुनै प्रक्रिया भने अघि बढ्न नसकेको स्थानीय डोमा मण्डलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button