Tune to BFM 91.2|Biratnagar

विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण

विराटनगर, ४ जेठ । हुलदङ्गा र होहल्ला गर्दै मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा छिरेको एउटा समूहले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको छ । आकस्मिक कक्षका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोश बस्नेतमाथि ज्यानै लिने हिसाबले गय राति आक्रमण गरिएको अस्पतालका कर्मचारी सुनील देवले बताउनु भयो ।

कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भई ल्याइएका दुई जनाको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि निरन्तर कुटपिट र आक्रमण भएको जानकारी देवले दिनु भयो । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको छ । चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । आकस्मिक कक्षको उपचारसमेत केही बेर प्रभावित बनेको देवको भनाइ छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार/पाँच जनाको सङ्ख्यामा रहेको समूहले घटना गराएको हो । दुवै जनामाथि लगातार लात्ता र मुक्का प्रहार गरिएको राईले बताउनु भयो । प्रहरीका अनुसार आक्रमण भएका बेला चिकित्सक र स्वास्थ्यकर्मी दुर्घटनाका घाइतेको उपचारमा व्यस्त थिए ।

प्रहरीका अनुसार प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले हिजो साँझ ७ः४५ बजेतिर ५० वर्षीय बालकुमार बस्नेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । गम्भीर अवस्थाका बस्नेतको उपचार अस्पतालको आकस्मिक कक्षमा भइरहेको थियो । घाइतेको राति ९ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जानकारी डीएसपी राईले दिनु भयो । उहाँका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाइते भएका थिए ।

उनको विराटमै उपचार भइरहेको छ । घटना हुनुभन्दा केही बेरअघि मात्रै बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए । मधुमेहको पुरानै समस्या रहेकी वृद्धाको उपचार ढिलो गरिएको भन्दै आक्रोसित बनेको समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको डीएसपी राईको भनाइ छ । अस्पतालले बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकमाथि आक्रमण गरिएको घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ । प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको छ । डीएसपी राईका अनुसार घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button