Tune to BFM 91.2|Biratnagar

विराट गोल्डकप चैत २५ गतेदेखि हुने, आयोजक समिति संयोजकमा शाह

विराटनगर १ फागुन । आगामी चैत अन्तिम सातादेखि विराट गोल्डकप हुने भएको छ । विराट गोल्डकप ट्रष्टको आज विराटनगरमा बसेको बैठकले आगामी चैत २५ गतेदेखि प्रतियोगिता शुरु गर्ने निर्णय गरेको हो ।

ट्रष्टले गोल्डकप प्रतियोगिता आयोजक समितिको संयोजकमा मनोजविक्रम शाहलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । २०७८ बैशाख ४ गते सम्पन्न हुनेगरि प्रतियोगिताको मिति तय गरिएको विराट गोल्डकप फुटवल ट्रष्टका सहकोषाध्यक्ष अनुज बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागि टिम, पुरस्कार राशीबारे चाडै निर्णय गरिने छ ।

कोरोना संक्रमणका कारण प्रतियोगितामा संभवत नेपालकै टिमको सहभागिता हुने बानियाँले बताउनुभयो । उहाँले शहिद मैदानमा जडान गरिएको फ्लड लाईटको यसै साता उद्घाटन गरिने बताउनुभयो ।

मुख्यमन्त्री शेरधन राईसँग भोली ट्रष्टका पदाधिकारी, आयोजक समितिको बैठक बसेर उद्घाटनको मिति तय गरिने छ । उद्घाटनका अवसरमा मैत्रीपूर्ण खेल हुने बानियाँले बताउनुभयो । २०७४ चैतमा दिवा–रात्री प्रतियोगिता पछि गोल्डकप आयोजना हुन सकेको थिएन ।

दुई वर्षदेखि गोल्डकप रोकिएपछि विराट गोल्डकप फुटवल ट्रष्टलाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले दवाव दिएका थिए । महानगरपालिकाले ट्रष्टले प्रतियोगिता आयोजना गर्न नसक्ने भए महानगरले गर्ने बताएको थियो । प्रदेश सरकारले रात्रीकालिन प्रतियोगिता सञ्चालनका लागि फ्लडलाईटको पनि प्रवन्ध गरिसकेकाले गोल्डकप आयोजनाका लागि दवाव दिएको थियो ।

ट्रष्टका पदाधिकारीले गोल्डकप आयोजनाबारे प्रदेश १ का सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button