Tune to BFM 91.2|Biratnagar

विरामी निकाल्ने नोवेलले क्षतिपुर्ती दिनुपर्ने माग

विराटनगर, २३ वैशाख । नोबेल मेडिकल कलेज विराटनगरले अप्रेशन थिएटरबाट निकालेकाका विरामीका परिवारले क्षतिपुर्तीको माग गरेका छन् । वैशाख १९ गते उदयपुर त्रियुगा नगरपालिका– ६ घनचक्रेका १६ वर्षिय भीमबहादुर खत्रीलाई नोवेल अस्पतालले रेफर गरेको थियो ।

चिकित्सकले वैशाख १९ गते शुक्रवार विहान शल्यक्रिया गर्ने बताएका थिए । ‘सबै प्रकृया पूरा भएपछि अप्रेशनका लागि ३२ हजार ५ सय पनि जम्मा गर्याै ।’ भीमका ठुलोबुवा मानबहादुर खत्रीले भन्नुभयोे ‘अप्रेशन थिएटरमा लगेपछि उदयपुरको भन्दै बाहिर निकालिदिए ।’

अस्पतालले दानवीय व्यवहार गरेको उहाँले बताउनुभयो । ५५ हजार रुपैयाँ खर्च गरिसकेपछि नोवेलले उपचार नगरि रेफर गरेको भन्दै उहाँले क्षतिपुर्ती पाउनुपर्ने बताउनुभयो । भीमबहादुर खत्रीको वैशाख १३ गते घास काट्ने क्रममा देब्रेहातको कुहिनो माथिको भाग भाच्चिएको थियो । शल्यक्रियाका लागि अस्पतालले स्टिल किन्न लगाएको थियो ।

तर बिहान अप्रेशन नगर्ने भन्दै चिकित्सक बाहिरिएपछि कोशी अस्पताल ल्याउनुपरेको परिवारजनले बताएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीले विरामीका परिवारले क्षतिपुर्ती पाउनुपर्ने बताउनुभयो ।

पीडितले क्षतिपुर्तीको माग गर्नु स्वभाविक भएको उहाँको भनाई छ । अप्रेसन थिएटरमा लगेको विरामी निकाल्ने अस्पताललाई कारवाही गर्नुपर्ने उहाँले बताउनुभयो । नोवेल अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले अप्रेसनका लागि जम्मा गरिएको रकम फिर्ता गरिने बताउनुभयो ।

अस्पतालमा विल फिर्ता ल्याउने वित्तिकै सो रकम फिर्ता गरिने उहाँको भनाई छ । उहाँले अस्पतालले सम्पूर्ण खर्च फिर्ता गर्न नसक्ने प्रशासन प्रमुख दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button