Tune to BFM 91.2|Biratnagar

विश्वका १ सय ५० स्त्री रोग विशेषज्ञ विराटनगर आउँदै

विराटनगर, ७ फागुन । विराटनगरमा नेपालसहित विश्वका एक सय ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ जम्मा हुने भएका छन् । विराट मेडिकल कलेज र प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था नेसोग पूर्व क्षेत्रीय शाखाको संयुक्त आह्वानमा दक्षिण एसियालीसहित विभिन्न मुलुकका बरिष्ठ स्त्री रोग विशेषज्ञ आउने भएका हुन् ।

विशेषज्ञहरुको उपस्थितिमा आगामी शुक्रबार र शनिबार ‘साउथ एसियन फेडरेशन अफ यूरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने छ । यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको हो । सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको विशिष्ट अतिथीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत रहनु हुने छ । विराट मेडिकल कलेजका अध्यक्ष तथा बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विशेष गरेर महिलाहरुको तल्लो पेट, प्रजनन तथा पिसाबसँग सम्बन्धित अंगहरु र अविकसित अंगहरुको पुर्नसंरचनाको क्षेत्रमा काम गर्ने विशेषज्ञ चिकित्सक एकै ठाउँमा भेला हुने जानकारी दिनु भयो

यस क्षेत्रमा काम गर्ने चिकित्सकले प्रमाणका आधारमा वैज्ञानिक खोजमुलक अनुसन्धान तथा उपलब्धीका विषयमा प्रकाशन र आफ्नो अनुभव आदानप्रदान गर्ने तथा महिलामा लाग्ने रोगका विशेषमा जनचेतना फैल्याउने सम्मेलनको मुख्य उदेश्य रहेको उहाँको भनाइ छ । फागुन १० गते शनिबार विशेषज्ञ चिकित्सकबाट प्रतिवद्धतासहितको स्वेत पत्र जारी हुने कार्कीले बताउनु भयो । ‘यस सम्मेलनबाट महिलाको स्वास्थ्य अवस्थाका विषयलाई लिएर अति नै प्रतिष्ठित र विशिष्ट अभियान चालिने छ,’ उहाँले भन्नु भयो, ‘त्यस क्रममा महिलामा देखा परेका विभिन्न जटिल रोगको शल्यक्रिया निःशुल्क गरिने छ ।’

उहाँकाअनुसार २० जना महिलाको जटिल खाले शल्यक्रिया निःशुल्क गर्ने योजना बनेको छ । कार्कीले विश्वका बरिष्ठ स्त्री रोग विशेषज्ञले आफ्नो अनुभव साटासाट गर्दै शल्यक्रियामार्फत महिलामा देखिएको समस्याको निदानको प्रयास गर्ने बताउनु भयो । उहाँका अनुसार योनी बनाउने, पिसाब चुहिने, पिसाब बन्द हुने लगायतका महिलासँग सम्बन्धी विभिन्न खाले समस्याको जटिल खाले शल्यक्रिया हुने छन् । विश्वका स्त्री रोग विशेषज्ञले अहिलेसम्म दुई युवतीको योनी बनाउने र तीन जनाको पिसाब चुहिने समस्याको अन्त्यका लागि शल्यक्रिया गर्ने तय भएको उहाँको भनाइ छ ।

त्यो बाहेक महिलाको पिसाब बन्द हुने, आङ् खस्ने लगायतका समस्याको जटिल खाले शल्यक्रिया विश्वका चिकित्सकको उपस्थिति र प्रत्यक्ष संलग्नतामा विराट मेडिकल कलेज भित्रै हुने कार्कीले बताउनु भयो । ‘शुक्रबार दिनभर शल्यक्रियामा व्यस्त रहेर सबै चिकित्सक साँझबाट भने सम्मेलनमा सहभागी हुने छन्,’ उहाँले भन्नु भयो , ‘यसलाई हामीले महिलाको स्वास्थ्य समस्या समाधानको विशेष अवसरका रुपमा उपयोग गर्नु पर्छ ।

’ डा. कार्कीले फेडरेसनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. विनित मिश्रसहित पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायत, भारत, अस्टे«लिया, सिंगापुर लगायतका मुलुकका चिकित्सक सम्मेलनमा भेला हुने जानकारी दिनु भयो । उहाँका अनुसार भेलामा अन्य मुलुकका एक सय र नेपालका ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ रहने छन् । कार्कीले नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय विशिष्ठ प्रतिनिधिको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने अपेक्षा गरिएको जानकारी दिनु भयो ।

‘नेपालमा मेडिकल टुरिजमको विकासका लागि यस्ता कार्यक्रमले मद्धत गर्छ,’ उहाँले भन्नु भयो , ‘वर्षौदेखि रोगसँग लडिरहँदा पनि निको नभएर पीडित बनेका महिलाले पनि सहज र निःशुल्क उपचार पाउने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button