Tune to BFM 91.2|Biratnagar

विश्वासको मतको विपक्षमा मतदान गर्ने गठबन्धनको निर्णय

विराटनगर, १४ कात्तिक । प्रदेश १ मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मत संवन्धि प्रस्तावको विपक्षमा मतदान गर्ने गठबन्धन दलले निर्णय गरेका छन् ।

आज बसेको गठबन्धनको बैठकले मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरिएको नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो । मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाएपछि राईलाई प्रस्ताव गरिने उहाँले बताउनुभयो । प्रदेश सभामा मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत लिने कार्यसूची रहेको छ । आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएर संसद बैठक स्थगित गराएको थियो ।

देउवाको भ्रमणलाई देखाइए पनि कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने विषयमा पुर्व सहमतिको माग गरेको थियो । विपक्षी गठबन्धनमा काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो, नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई, जनता समाजवादी पार्टी दलका नेता जयराम यादव र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्वाहाम्फे सहभागि भएका थिए । ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिने छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन् ।

५० सांसद एक ढिक्का रहेको नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राईले दावी गर्नुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button