Tune to BFM 91.2|Biratnagar

विहारको निर्वाचनका कारण सीमावर्ती क्षेत्रमा उच्च सकर्तकता

विराटनगर, २१ कात्तिक । भारतको विहार राज्यमा भोलि हुने विधानसभा सदस्यको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर नेपालको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । मोरङको सीमावर्ती क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

मोरङसँग सीमा जोडिएको विहारको अररीया जिल्लामा पनि निर्वाचन हुने भएपछि आज बिहानैबाट उचित सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनका बेला दुई देशबीचको सीमा नाका ७२ घण्टासम्म सिल गर्ने गरिएको छ । निर्वाचनका बेला कुनै पनि घुसपैठ र अपराधिक घटना हुन नदिन तथा अपराधिक घटनामा संलग्नले सहज आवतजावत गर्न नसकुन् भनेर सीमा क्षेत्रमा निगरानी बढाएर सुरक्षा कडाई गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो ।

निर्वाचनमा घुसपैठ नहोस् र कुनै पनि अपराधिक घटना गरेर नेपालतर्फ अपराधी भाग्न नसकुन् भनेर भारतीय पक्षले चुनावका बेला सधैं नेपाली सुरक्षाकर्मीको साथ लिँदै आएको छ । नेपाली भूमिमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षा प्रदान गरिरहेको छ । सीमा नाकामा विशेष रेकी गर्दै तथा गस्ती बढाउँदै नेपाल र सशस्त्र प्रहरीले सुरक्षा प्रबन्ध मिलाइरहेका हुन् । भारततर्फ पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर कडाई भइरहेको छ ।

निर्वाचन नसकिएसम्म भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रलाई नेपाली सुरक्षाकर्मीले उच्च निगरानीमा रहने एसपी खड्काको भनाइ छ । खड्काका अनुसार सीमा क्षेत्रमा शंकास्पद गतिविधी गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने छ । भारततिरबाट कसैले छिर्ने प्रयास गरेमा र शंकास्पद तवरबाट कोही आएमा नियन्त्रणमा लिएर कारबाहीका लागि भारतीय प्रहरीको जिम्मा लगाउने तयारी नेपाली सुरक्षाकर्मीको छ ।

एसपी खड्काले आवश्यक परेका बखत नेपाल र भारतका सुरक्षाकर्मीबीचको समन्वय र सहयोग आदानप्रदानले सीमा क्षेत्रमा हुने अवैध गतिविधी र अपराध नियन्त्रणमा मद्धत पुग्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button