Tune to BFM 91.2|Biratnagar

वृद्धाको शव नउठ्ने भएपछि व्यवस्थापन गर्न सेनाले लग्यो

विराटनगर, ३२ साउन । कोरोना भाइरसको संक्रमण नदेखिए पनि शव उठ्ने अवस्था आएपछि विराटनगरकी एक वृद्धाको शव नेपाली सेनाले व्यवस्थापन गर्न आज साँझ लगेको छ ।

गयराति ९ बजेतिर मृत्यु भएकी विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको दाहसंस्कार गर्न परिवारका सदस्य र आफन्तले नमानेपछि उठाएर सेनाको विशेष टोलीले लिएर गएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा सहभागी हुन नमानेपछि विशेष आग्रहमा शव सेनाको व्यवस्थापनका लागि लगेको बताउनु भयो ।

कोरोना पोजेटिभ देखिएका मृतकको मात्रै शव नेपाली सेनाले व्यवस्थापन गर्छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ । तर यहाँ भने नेगेटिभ रिपोर्ट आएकी वृद्धाको शव व्यवस्थापनमा पनि सेनानै खटिनु परेको प्रजिअ निरौलाको भनाइ छ ।

संक्रमण देखिएपछि खतिवडा थरकी वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट मारवाडी सेवा सदनको आइसोलेसनमा छन् । ५० वर्षीय बुहारी र २८ वर्षीय नातिको स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ आयो ।

आज बिहान वृद्धाको भने रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कार गर्न आफन्त र परिवारलाई अनुमति दिइएको थियो । कोरोना भएर छोरा आइसोलेसनमा पुगेको तथा घरमा भएका बुहारी तथा नाति पनि संक्रमित भएसँगै आफन्तले मानेनन् र छिमेकी घरमा पस्न डराए ।

जसका कारण वृद्धाको शव घरबाट २२ घण्टापछि मात्रै उठेको छ । मृत्यु भएकी वृद्धामा पनि ज्वरो आउने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

वृद्धाको छोरामा कोरोना देखिएपछि पारिवारिक नाता सम्बन्धका सदस्यको परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको थियो ।

वडा अध्यक्ष विनोद बस्नेतले परिवारका अन्य सदस्य संक्रमित भएका कारण सर्ने डरले छिमेकीहरु घरमा पस्न नमानेको बताउनु भयो ।

कोरोना नदेखिएका कारण घाटमा गर्नु पर्ने दाहसंस्कार हुन नपाएको भन्दै बस्नेतले सेनाले लगेर संक्रमितको जस्तो व्यवस्थापन गर्नु पर्ने अवस्था आएको बताउनु भयो ।

कोरोना संक्रमित भएर आइसोलेसनमा लगिएका पुरुष वृद्धाका कान्छा छोरा हुन् । कान्छालाई कोरोना देखिएपछि जेठा छोरा र उनका परिवारका सदस्य पीसीआर परीक्षणका लागि बुधबार विराटनगरमा स्वाब दिएर काठमाडौं गएको खुलेको छ ।

उनीहरुको रिपोर्टका बारेमा यकिन भएको छैन । तर आमाको मृत्यु भएकाले दाहसंस्कारका लागि आउन छिमेकी र स्थानीय प्रशासनले आग्रह गरे पनि उनले चासो नदिएको प्रजिअ निरौलाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button