Tune to BFM 91.2|Biratnagar

वृद्धामाथि आक्रमण गरेर लुटियो गहना

विराटनगर, २१ असोज । मोरङको पथरीशनिश्चरेमा दिनदहाडै आक्रमण गरेर एक जना वृद्धा महिलाले लगाएका सुनका गहना लुटपाट गरिएको छ । प्रहरीका अनुसार लुटपाटमा संलग्न आक्रमणकारीको पहिचान खुल्न सकिरहेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मरणसन्न हुने गरी कुटपिट गर्दै पथरीशनिश्चरे नगरपालिका–३ ढकाल चोककी ७५ वर्षीया हर्कमाया दङ्गालले लगाएका सुनका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हिजो दिउँसो ४ः३० बजेतिर अनुहार तथा शरीरबाट रगत बगिरहेको र अचेत भएर लडिरहेको अवस्थामा घरबाट दुई सय मिटर पर स्थानीय र परिवारका सदस्यले वृद्धालाई देखेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी घरबाट गाईवस्तुलाई घाँस र पानी दिन गएको खुलेको छ । वृद्धाले नाक र कानमा लगाएका गहना आक्रमणकारीले लिएर गएको हुनसक्ने प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठका अनुसार एक तोलाजतिको सुनका गहना लगेको खुलेको छ । घटनाको प्रकृति हेर्दा लुटपाटको उदेश्यले आक्रमण गरिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button