Tune to BFM 91.2|Biratnagar

शिसवनी टोलका सुकुम्वासीलाई विहान बेलुका छाक टार्न समस्या

विराटनगर, ३ साउन । विराटनगर महानगरपालिका १९ शिसवनी टोलका बुधनारायण ऋषिदेव दैनिक ज्याला मजदुरीको काम गर्नुहुन्थ्यो । लकडाउन पछि उहाँको काम रोकिएको छ । अहिले लकडाउन खुकुलो भए पनि उहाँको काम सञ्चालन हुन सकेन् ।

विहान बेलुका छाक टार्न समस्या भएको समयमा छोराछोरीलाई पोषणयुक्त खाना खुवाउन नसकेको उहाँले बताउनुभयो । विराटनगर १९ शिसवनी टोलको सुकुम्वासी बस्तीमा करिव एक सय घर परिवारको बसोबास छ । बस्तीका सवैको समस्या एकै खालको छ ।

मजदुरी गरि जीवन यापन गरिरहेका उनीहरु अहिले काम विहिन भएपछि विहान बेलुकाको छाक टार्नकै समस्या छ । पोषणयुक्त खानाका लागि उनीहरुले सोचेपनि हुन सकेको छैन । पहिला राम्रो कमाई भएपनि अहिले समस्यामा परेको सुकुम्वासी बस्तीकी कारोदेवी ऋषिदेवले बताउनुभयो ।

भाडा माझेर दैनिक गुजारा चलाउँदै आएका सुकुम्बासी बस्तीका महिलाहरुको काम अहिले रोकिएको छ । दैनिक मजदुरी गरेर राम्रैसँग परिवार चलाईरहेका उनिहरु अहिले समस्यामा परेका छन् । उनिहरुका समस्या देखि स्थानिय सरकार समेत बेखवर रहेको स्थानीय रामसरी ऋषिदेवले बताउनुभयो ।

लकडाउन शुरु भएको ४ महिना पुग्नै लागेको छ । चार महिना लामो लकडाउनमा उनीहरुले एकपटक मात्रै वडा कार्यालयबाट राहत पाएको बताएका छन् । राहतको नाममा करोडौ रकम आएपनि आफुहरु भोकै वस्न परेको फुलोदेवी ऋषिदेवको गुनासो छ ।

दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने समुदायका वालवालिकामा कुपोषणको जोखिम बढि देखिएको छ । दैनिक मजदुरी गर्ने उनीहरुकोे काम नचल्दा दैनिक छाक टार्न समस्या भएको छ ।

जसको कारण पोषणयुक्त खानाको अभाव हुँदा वालवालिकामा कुपोषणको जोखिम देखिने संभावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button