Tune to BFM 91.2|Biratnagar

शीतलहरले जनजीवन प्रभावित

विराटनगर, ३० मंसिर । केही दिनदेखिको बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण प्रदेश १ को राजधानी विराटनगरलगायत तराईको जनजीवन नराम्ररी प्रभावित बन्न थालेको छ ।

शीतलहरसँगै मौसम एक्कासि चिसिएपछि जनजीवन कष्टपूर्ण बनेको हो । चिसोका कारण सामान्य हिसाबले बनिबुतो गरेर जीवनयापन गर्दै आएका, आर्थिक अवस्था कमजोर भएकाहरु, बस्ने घरको उचित व्यवस्थापन हुन नसकेका, सुकुम्बासी, गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका धेरै समस्यामा परेका छन् । विराटनगरमा आज बिहान वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाका अनुसार आज बिहान विराटनगरको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो तापक्रम वर्षकै सबैभन्दा कम रहेको उहाँको भनाइ छ । हिजो विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री र अस्ती आइतबार १३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसममा आएको परिवर्तनसँगै केही दिनदेखि घाम लाग्न नसक्दा तापक्रममा नियमित गिरावट आएर धेरै चिसो महसुस भइरहेको देउजाले बताउनु भयो । चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम छ ।

सरकारी कार्यालयमा सेवाग्राहीको संख्या सामान्य अवस्थाकोभन्दा कम हुँदै गएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो । सडकमा सवारी साधन पातलिएका छन् । सवारी साधनमा यात्रा गर्ने यात्रुको संख्यामा पनि कमि आएको छ । कतिपय ठाउँमा सर्वसाधारण आगो तापेर चिसो भगाउने प्रयास गरिरहेका छन् । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुुमनलाल दासका अनुसार चिसोका कारण रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको संख्यामासमेत वृद्धि भएको छ ।

हुस्सुले चालकलाई सवारी साधन चलाउन पनि गाह्रो हुन थालेको छ । नजिकको दृष्य पनि देख्नसक्ने अवस्था नभएपछि ट्राफिक प्रहरीले सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चिसोबाट सर्वसाधारणलाई जोगाउने उपायको खोजी थालिएको बताउनु भयो । चिसोले सबैलाई गाँज्दै लगेको अवस्थामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी भइरहेको उहाँको भनाइ छ ।

चिसोबाट प्रभावितलाई जोगाउनका लागि गृह मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएको निरौलाले बताउनु भयो । शीतलहर चल्न थालेका कारण त्यसबाट हुनसक्ने सम्भावित क्षति कम गर्न मोरङका सरकारी तथा गैर सरकारी निकायलाई सक्रिय गराउने तयारी भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button