Tune to BFM 91.2|Biratnagar

संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विराटनगर, २१ वैशाख । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन् ।

विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि वैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु भएको हो । त्यसयता हालसम्म केन्द्रमा ३१ जना संक्रमति रहेका छन् ।

उनीहरुको नियमित चेकजाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिनु भयो । डा. मिश्राका अनुसार पहिलोपटक ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याउदाँदेखि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको छ ।

त्यसयता हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली प्रत्यक्ष रुपमा संक्रमतिको उपचारमा संलग्न रहँदै आएको छ । यसैबीच सो समय संक्रमितसँग प्रत्यक्ष रुपमा अग्रपंक्तिमा खटिएका २८ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको र अवस्था सामान्य रहेको उहाँले जानकारी दिनु भयो ।

उदयपुरबाट पहिलोचरणमा ल्याइएका १३ जना संक्रमितको समेत शुक्रबार रोजापछि स्वाब संकलन गरिएको र रिपोर्टको पर्खाइमा केन्द्र रहेको छ । पहिलोचरणमा संक्रमितसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आए पनि सबैजना होटलकै कोठाभित्र क्वारेन्टाइनमा रहेका छन् ।

डा. मिश्राका अनुसार हालसम्म ५० जना होटलमा र तेस्रो चरणका २५ जना स्वास्थ्यकर्मी भने होटलको बसाईसँगै केन्द्रमा संक्रमितको उपचारमा खटिएका छन् । सबै स्वास्थ्यकर्मीको क्वारेन्टाइन बसाईको समय पूरा भइनसकेको र क्वारेन्टाइनमा प्रक्रिया पुर्याएपछि सबैजना कोशी अस्पतालको नियमित कार्यमा फर्कने उहाँको भनाइ छ ।

चिकित्सकहरुलाई सेल्फ क्वारेन्टाइनका क्रममा केन्द्रबाट करिब १ सय मिटरको दूरीमा रहेको एक होटलमा राखिएको छ । त्यसैगरि अन्य स्वास्थ्यकर्मीलाई भने मेनरोडस्थित जैन भवनमा राखिएको छ ।

कोभिड १९ उपचार केन्द्रमा हालसम्म उदयपुरबाट २८ जना, झापाबाट २ र भोजपुरबाट १ जना संक्रमित उपचारका क्रममा रहेकाछन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भएपनि तीनजना मधुमेह र एक जना उच्च रक्तचापको बिरामी रहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button