Tune to BFM 91.2|Biratnagar

संक्रमितको उपचार बन्द गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

विराटनगर, १३ वैशाख । कोरोना भाइरस संक्रमितको उपचार बन्द गर्दै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी आजदेखि आन्दोलनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएर संक्रमणले महामारीको रुप लिइरहेका बेला संक्रमितको उपचार नै छाडेर चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरुले माग पूरा नभएसम्म काममा नफर्किने बताए । एक चिकित्सकका अनुसार संक्रमितको उपचारमा विशेष ध्यान दिनुपर्ने बेला न्यूनतम सुविधाकै लागि आन्दोलनमा जार्नुपर्ने अवस्था आयो । स्वास्थ्यकर्मीको आन्दोलनका कारण संक्रमितले उपचार नपाएर अवस्था थप जटिल बन्ने देखिएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र एक सय ८० बेडको छ ।

छ जना नर्स, तीन जना पारामेडिक्स र पाँच जना चिकित्सक कार्यरत केन्द्रमा अहिले ३२ जना संक्रमित बेड भर्ना भएरै उपचाररत छन् । आन्दोलनका कारण उपचार प्रभावित बनेपछि संक्रमितको जीवन थप जोखिममा परेको छ । सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त गरेका डाक्टर, नर्स र पारामेडिक्सले कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा पाएका छन् । कोरोना संक्रमण मत्थर हुँदै गएपछि विदामा बसेका उनीहरुले अहिले पुर्ननियुक्ति पाएर काममा फर्किए पनि सरकारले तोकेको सुविधा भने पाएका छैनन् । पटक–पटक सुविधा दिन माग गरिए पनि सरकारले वास्ता नगरेको एक नर्सले बताइन् । उपचारमा खटिनेलाई खाना पनि गुणस्तरहीन दिने गरिएको गुनासो स्वास्थ्यकर्मीको छ ।

कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले स्वास्थ्यकर्मीको मागको सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेकाले तत्काल आन्दोलन छाडेर स्वास्थ्यकर्मीले संक्रमितको उपचारमा फर्कनुपर्नेमा जोड दिनुभयो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक एपोलो भगतले स्वास्थ्यकर्मीको माग सम्बोधन गर्दै समस्या समाधानका लागि मन्त्रालयसँग आवश्यक छलफल र पहल भइरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button