Tune to BFM 91.2|Biratnagar

संक्रमितको शव व्यवस्थापन गर्ने सेनाको टोली विराटनगरमा

विराटनगर, २८ वैशाख । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शवलाई सुरक्षितसाथ व्यवस्थापन गर्नका लागि परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ । यसअघि टोलीलाई गाडीबाट लगभग ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ स्थित थलाहामा राखिँदै आएको थियो । विराटनगरका अस्पतालमा र होम आइसोलेसनमा पनि विराटनगरमै कोरोना संक्रमितको मृत्यु धेरै भइरहेको छ । सेनाले दैनिक १० वटासम्म शवको व्यवस्थापन गरिरहेको छ ।

संक्रमितको मृत्यु भएको जानकारी पाएपछि तयार भएर आउन नै समय लाग्ने र बेलैमा शवको व्यवस्थापन गर्न गाह्रो भएर अवस्था जटिल बन्न थालेपछि टोलीलाई विराटनगर ल्याएर राखिएको मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणका गणपति एवं प्रमुख सेनानी गणेश रावलले जानकारी दिनु भयो । उहाँका अनुसार संक्रमितको शव व्यवस्थापनमा चार÷चार जनाको दुईवटा टोली खटिँदै आएको छ । टोलीलाई छुट्टै आइसोलेसनसहित विराटनगरमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा राखिएको जानकारी रावलले दिनु भयो । यो टोली दुई साताका लागि मात्रै विराटनगर बस्ने छ । त्यसपछि अर्को टोलीले पालो दिएसँगै क्वारेन्टाइनमा बस्न जान्छ ।

संक्रमितको शव व्यवस्थापन गर्ने टोली प्रत्येक १५÷१५ दिनमा परिवर्तन गरिने प्रमुख सेनानी रावलको भनाइ छ । शव व्यवस्थापन चाँडै गर्न सकियोस् भनेर टोलीलाई विराटनगरमै ल्याएर अलग्गै राखिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button