संयुक्त आन्दोलनमा जसपाको जोड
विराटनगर, २५ पुस । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लादेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको भनदै त्यसविरुद्ध संयुक्त आन्दोलनमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध पार्टीले विराटनगरमा आयोजना गरेको विरोधसभालाईआज सम्बोधन गर्दै यादवले ओलीको नियत, चिन्तन र चरित्र नै अग्रगमनको बाटो रोक्ने भएकोले उनले निर्वाचन गर्छन् भन्ने भ्रममा नपर्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो । ‘संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले आफ्नै पार्टीको बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेका छन्’ यादवले भन्नुभयो, ‘उनले सत्ता लम्ब्याउन मात्र प्रतिनिधिसभा विघटन गरेको भएपनि उनको प्रतिगामी कदमविरुद्ध सिंगो मुलुक आन्दोलित हुनुपर्छ ।’
ओलीको कदमपछि निर्वाचनमा जाँदा आफूहरुलाई लाभ हुने भएपछि ओलीले निर्वाचन नगर्ने र उनको कदमले परिवर्तनका एजेण्डा थप संकटमा पर्ने भएकोले संयुक्त आन्दोलन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा चुनाव नगराउने जसपा जनपरिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताउनु भएको छ । विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भट्टराईले ओलीले कुनै हालतमा चुनाव नगराउने बताउनु भएको हो ।
दुई तिहाई बहुमत प्राप्त गर्दा काम गर्न नसकेका ओलीले आफू पत्तासाफ हुने चुनाव गराउन नसक्ने उहाको भनाई छ । ‘हिजोको नेकपा चोइटिएको छ ।’ उहाले भन्नुभयो ‘प्रनितिधिसभा विघटन पछि ओलीले चुनाव घोषणा गरेका छन् । तर आफू पत्तासाफ हुने चुनाव कुनै हालतमा गराउन सक्दैनन् ।’सर्वसत्ताबादी प्रवृति भएका ओलीले स्वतन्त्र न्यायालयमा पनि हस्तक्षेप गरेको उहाले बताउनु भएको छ ।
सार्वजनिक रुपमा अदालतमा धम्कीपूर्ण भाषा प्रयोग गरेको बताउँदै उहाले अदालतको फैसला प्रति आस गर्ने अवस्था भएपनि भर पर्ने अवस्था नरहेको बताउनु भयो ।