Tune to BFM 91.2|Biratnagar

संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश

विराटनगर, १८ जेठ । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक आज पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आजको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्नुभएको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची–३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।मन्त्रिपरिषद् बैठकले जेठ ५ मा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो ।

त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक गत जेठ ९ गते संसद सचिवालयमा दर्ता गरिएको थियो । जेठ १४ को संसद बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने उल्लेख थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केही दिन समय मागेपछि जेठ १४ को अन्तिम कार्यसूचीबाट संविधान संशोधनको कार्यसूची झिकिएको थियो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

संसदमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले यस विषयमा औपचारिक केही बोलेका छैनन् । अनौपचारिक रुपमा भने दुवै दलले नक्सा सम्बन्धी विषयमा संविधान संशोधन गर्ने विषयमा आफूहरुको विरोध नहुने बताईसकेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button