संवैधानिक काममा अनुचित हस्तक्षेप गर्न हुँदैन : उप–प्रधानमन्त्री पोखरेल

0
207

विराटनगर, २७ जेठ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संवैधानिक अंगले संवैधानिक ढंगबाट गरेको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश स्तरमा लोकसेवा आयोग नबनेकोे अवस्थामा कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले गरेको मागलाई अनुचित भन्न नमिल्ने प्रष्ट पार्नु भयो । मन्त्री पोखरेलले आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्त अनुसार अघि बढाएको भनेर प्रष्ट पारिसकेका कारण बाहिर आएका अनआवश्यक कुराहरुमा कुनै सत्यता नभएको बताउनु भयो । केन्द्रमा रहेका कर्मचारी मात्रै प्रदेश र स्थानीय तहमा अपुग हुने भएकाले आयोगले संविधानले व्यवस्था गरे अनुरुप समावेशी सिद्धान्त अनुसार कर्मचारी पदपूर्ति गर्न खोजेका कारण कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने उहाँको भनाइ छ । प्रदेश स्तरमा लोकसेवा आयोग बन्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशको आयोग नबनिसकेकाले कर्मचारी भर्नाका लागि लोकसेवाले प्रक्रिया अघि बढाएको पोखरेलले बताउनु भयो । उहाँले कार्यपालिका, न्यायपालिका तथा संवैधानिक अंगहरु संविधान अनुसार नै अघि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाँले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले संचार क्षेत्रलाई थप व्यवस्थित बनाउने दाबी गर्नु भयो । प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति अहिले सरकारमा रहेकाले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने कुरा कल्पना समेत गर्न नसकिने उहाँको भनाइ छ । मन्त्री पोखरेलले विधेयकले अनुचित र गैर जिम्मेवार ढंगले गर्ने कार्यलाई भने नियन्त्रण गर्ने बताउनुभयो । विधेयकले नेपाली प्रेस जगतलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै उहाँले विधेयकलाई व्यवस्थित बनाउन आउने सल्लाह र सुझावलाई आत्मसात गरेर अघि बढ्ने स्पष्ट पार्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here