Tune to BFM 91.2|Biratnagar

संस्कृति र परम्परा जगेर्ना गर्न गोप्य रुपमा ऐतिहासिक रथयात्रा

विराटनगर, २८ साउन । कोरोनाभाइरस कोभिड १९ संक्रमणसंगै विराटनगरमा प्रत्येक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रा यसपटक औपचारिकतामा सीमित बनेको छ ।

विराटनगर महानगरपालिकामा दैनिकरुपमा संक्रमितको संख्या बढिरहँदा रथयात्रा आयोजक समितिले यसअघि नै राधाकृष्णको नगरपरिक्रमा कार्यक्रम स्थगित गरेको थियो । परम्परालाई जगेर्ना गर्ने उद्धेश्यसहित यसपटक राधाकृष्णको युगल जोडीलाई आयोजक समूहले खटमा राखेर सीमित धर्मावलम्बीले सामाजिक दूूरी कायम गर्दै नगर परिक्रममा गराएका छन् ।

यसअघि स्थगित गरिएको जनाएपनि श्रद्धालु भक्तजनको भीडभाड नहुनेगरि गोप्य रुपमा नगरपरिक्रममा गरिएको राधाकृष्ण धर्मशालाका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिनुभयो । रथयात्राका लागि विगतमा झैं बृहत संख्यामा श्रद्धालुको उपस्थिती हुनसक्ने संभावनालाई मध्यनजर गर्दै संस्कृति र परम्परालाई निरन्तरता दिन यसप्रकारले सुरक्षित रुपमा कार्यक्रम गरिएको आयोजक समूहले जनाएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले परम्परा धान्नका लागि विषम परिस्थितीमा समेत सुरक्षित रुपमा कार्य गरिएको बताउनु भयो ।

विराटनगरको ऐतिहासिक रथयात्रालाई निरन्तरता दिने उदेश्य अनुरुप खटयात्रा गरेकोमा आयोजक समितिलाई मेयर पराजुलीले धन्यवाद दिनु भएको छ । १९८८ सालमा खट यात्राबाट सुरु गरिएको राधाकृष्ण रथयात्राले २०२५ सालपछि बृहत रथयात्राको रुपमा निरन्तरता पाउदै आएको थियो । कोभिड १९ का कारण यसपटक भने विगत झै रथयात्राले पूर्णता पाउन सकेन् ।

रथयात्रामा सहभागिता जनाउनका लागि मोरंग, सुनसरी र भारतको विहारका विभिन्न क्षेत्रबाट श्रद्धालुको भीड रहने गरेको छ । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यस रथयात्रालाई दक्षिण एशियाकै ठूलो रथयात्रा दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button