सडकमा पार्किङ नदिँदा बजार बन्द

0
148

विराटनगर, २९ पुस । विराटनगर महानगरपालिका–९ को जलजला चौकदेखि बुधहाट चौकसम्मको क्षेत्रमा आज दिउँसोबाट बजार तथा पसल बन्द गरिएको छ । मेन रोडको लगभग पाँच सय मिटर क्षेत्रफलमा महानगरपालिका कार्यालयले सवारी साधन पार्किङ निषेध गरेपछि व्यापारी आन्दोलित बनेका हुन् । निक्कै लामो समयदेखि सडकको दुवैतर्फ पार्किङ निषेध गरिएको थियो । तर आजबाट व्यापारीहरु यसको विरोधमा उत्रिएर बजार एवं पसल स्वतस्फुर्त रुपमा बन्द गराएका हुन् । महानगरले सडकमा गरिने पार्किङमा रोक लगाउँदै आफ्नै खाली जग्गा ‘बी’ प्लटमा पार्किङको व्यवस्था गरेको थियो । कपडा व्यापारी महेश साहले सडकको एकातर्फ पार्किङ गर्न दिनु पर्ने आफूहरुको माग रहेको बताउनु भयो । निक्कै टाढा पार्किङको व्यवस्था गरिएका कारण त्यहाँबाट पसलमा सामान खरिद गर्न ग्राहाक नआउँदा व्यापार व्यवसाय चौपट बनेको साहको गुनासो छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले महानगरले निषेध गरेको सडकमा पार्किङ गर्न दिन नसकिने बताउनु भयो । ‘सवारी साधन सञ्चालन गर्ने सडकमा पार्किङ गर्न दिन हुँदैन,’ उहाँले भन्नु भयो, ‘साँघुरो सडकमा पार्किङ गरेमा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएर ट्राफिक व्यवस्थापन भद्रगोल हुन्छ ।’

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here