सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

0
106

विराटनगर, २७ असार । चार दिनयताको लगातारको वर्षाका कारण पूर्वी तराईमा डुबानको समस्या देखिन थालेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको छ भने सुनसरीका दक्षिणी सहित भित्री ग्रामिण भेग डुबानको चपेटमा परेका छन् । सेउती, टेङग्रा, बुढी, मरिया र सुनसरी जस्ता खोलामा जल स्तर बढेको छ । पानीको उचित निकास अभावमा सडक तथा वस्तीहरु डुबानमा परेका छन् । सडक तथा बाटोघाटो निर्माण गरिँदा पानीको निकास नखोजिएकाले दक्षिणी भेगका धेरैजसो भेगमा पानी जमेर वस्तीहरु डुबानमा परेका छन् । हरिनगरको बसन्तपुरका ४५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बराहक्षेत्र मन्दिर जाने मार्गको ७ स्थानमा पहिरो खसेकाले सो क्षेत्रमा तत्कालकालागि आवतजावतमा रोक लगाइएको छ । सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले सप्तकोशी नदीसहित खोलानालामा पानीको स्तर बढेपनि कुनै पनि खतरा भने नरहेको बताउनु भएको छ । उता अवरिल वर्षासँगै सप्तकोशी नदीको बहावमा समेत वृद्धि भएको छ । सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार कोशीको बहाव १ लाख ८४ हजार ७ सय ४५ रहेको छ । कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन् । पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम जारी रहेकाले बहावमा वृद्धि हुन सक्ने कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here