Tune to BFM 91.2|Biratnagar

सप्तरीमा गर्भवती महिलाको मृत्यु

विराटनगर, १३ जेठ । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको आज मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको आज घरमै मृत्यु भएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिनुभएको छ । गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका जस्तै लक्षण देखापरेको थियो ।

केहीदिन यता ‘निरन्तर ज्वरो आउने, श्वास लिन समस्या हुने समस्या देखिएपछि उनलाई घरमै आइसोलेसनमा राखिएको थियो’ गुप्ताले भन्नुभयो । उनलाई पछिल्लो एक सातादेखि नियमित ज्वरो आइरहेको थियो ।

गत जेठ ८ गते सदरमुकाम राजविराजस्थित स्वास्थ्यसंस्थामा डा. बिनिता यादवसँग गर्भवती जाँच गराएकी उनलाई त्यस दिन १०२ दशमलव ४ डिग्री ज्वरो पाइएको गुप्ताले बताउनुभयो । ज्वरो आउने, श्वास लिन समस्या भएपछि उनलाई घरमै राख्न सल्लाह दिइएको थियो । तर गएरातिदेखि उनलाई श्वास लिन अति नै समस्या भएपछि आज राजविराजतर्फ ल्याउने तयारी गरिरहेकै अवस्थामा मृत्यु भएको गुप्ताले जानकारी दिनुभएको छ ।

कोरोनाको लक्षण देखिएकी महिलाको मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको छ । उनको स्वाब संकलन गरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइसकिएको गुप्ताले बताउनुभयो । रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button