Tune to BFM 91.2|Biratnagar

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

विराटनगर, २३ जेठ । नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी प्रदेशसभा सचिवालयमा दिनु भएको हो ।

सरकारका गतिविधिविरुद्ध आलोचना गर्दै आएको माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।सरकारले बोलाएको प्रदेशसभाको अधिवेशन भोलीबाट सुरु हुँदैछ । माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दलको नेतालाई दिएको थियो । सरकारबाट अलग भएको र सरकारका गतिविधि आलोचनायोग्य रहेकोले प्रतिपक्षी भूमिका निर्वाह गर्न सरकारको समर्थन फिर्ता लिएको दलका नेता आङ्बोले बताउनुभयो ।

२०७३ फागुन ३ गते नेकपा एमाले संसदीय दलका नेता शेरधन राई माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री चयन भएका थिए। एमाले र माओवादी मिलेर नेकपा भएपछि राई नै दलको नेता चयन हुनु भएको थियो । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध उभिएको तत्कालीन नेकपाको माओवादी र माधवकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सर्वाेच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालीन नेकपा एमालेको एकल बहुमत रहेकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई कुनै संकट देखिएको छैन ।

यद्यपि एमालेको माधवकुमार पक्षले समर्थन नगरेको अवस्थामा भने राई सरकार अप्ठेरोमा पर्नेछ । सरकारलाई दिएको समर्थना फिर्ता लिएसँगै माओवादी केन्द्रलाई प्रतिपक्षी बेञ्चमा राख्न संसद सचिवालयले व्यवस्थापन सुरु गरेको जनाएको छ । प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button