सरकारलाई बहुमतको दम्भ नदेखाउन सभापति देउवाको चेतावनी

0
116

विराटनगर, २३ फागुन । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ । सरकार सहमति भन्दा पनि बहुमत देखाएर प्रस्तुत हुन थालेको उहाँको आरोप छ । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले सो कुरा बताउनु भएको हो । उहाँले सरकारलाई समयमै विधेयक तथा ऐनहरु ल्याउन सुझाव दिनुभयो । अन्तिम समयमा विधेयक तथा ऐनहरु आउने र पर्याप्त छलफल नभई बहुमतको भरमा पारित गर्ने गरिएको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ समयमै विधेयकहरु आए पर्याप्त छलफल हुने थियो ।’ सरकारले भने अनुसारका काम गर्न नसकेको उहाँको भनाई । उहाँले भन्नुभयो,‘प्रतिपक्षी दलबाट धेरै विरोध भयो भनेपछि हामी चुप लागेर बसेको छौं, हामी चुप लाग्दा पनि सरकारले काम गर्न सकेन ।’ प्रतिपक्षी दल अव चुप लागेर नबस्ने सभापति देउवाको भनाई छ । संघियता नेपालको वास्तविकता अनुसार नभएको समेत उहाँको भनाई छ । सभापति देउवाले प्रेस स्वतन्त्रता विना प्रजातन्त्र अघि बढ्न नसक्ने बताउनुभयो । प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने काम कोही कसैले गर्न नहुने नेपाली काँग्रेसको मान्यता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको सम्बृद्धिका लागि आफुहरु लागि परेको बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, हास्यकलाकार मनोज गजुरेल, गायिक आनिछोईङ डोल्मा, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लगायतले बोल्नु भएको थियो । बार्षिकोत्सवका अवसरमा राष्ट्रिय कलाकार सहित २ दर्जन बढीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here