Tune to BFM 91.2|Biratnagar

सरकारी वकिल कार्यालयको नयाँ भवन बन्यो

विराटनगर, ९ फागुन । विराटनगरमा जिल्ला सरकारी वकिल कार्यालय मोरङको नयाँ भवन निर्माणको काम सम्पन्न भएको छ । भवन अत्याधुनिक र सुविधा सम्पन्न छ । नयाँ भवनको महान्यायाधीवक्ता अग्नी खरेलले भर्चुअल माध्यमबाट हिजो उद्घाटन गर्नु भयो ।

खरेलले उद्घाटन गरेसँगै सरकारी वकिल कार्यालयको काम कारबाही आजदेखि नयाँ भवनबाट गर्न थालिएको छ । तीन करोड १४ लाख ८२ हजार चार सय २५ रुपैयाँको लागतमा तीन कट्ठा क्षेत्रफलमा भवन बनेको हो । भवनमा २३ वटा सुविधा सम्पन्न र अत्याधुनिक कोठाहरु छन् । भवनमा अपाङ्गता र पीडित मैत्री कक्षहरु रहेको जानकारी जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले दिनु भयो । साथै नवनिर्मित भवनमा पुस्तकालय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको व्यवस्था छ ।

कार्यक्रममा महान्यायाधीवक्ता खरेलले तीन वर्षमा मुलुकभर ३९ वटा सरकारी वकिल कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको बताउनु भयो । अपराधमुक्त समाज र न्याय सम्पादनमा राज्यको ठूलो लगानी रहेको उहाँको भनाइ छ । जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेल, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, न्यायाधीश शिशिरराज ढकाल, किशोर घिमिरेलगायतले नवनिर्मित भवनबाट कार्य सम्पादनमा सहजता विश्वास लिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button