सरकार मन नपर्दा व्यवस्था विरुद्धनै आन्दोलन : मन्त्री बाँस्कोटा

0
100

विराटनगर, १ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार मन नपर्दा व्यवस्था विरुद्ध नै आन्दोलन हुने गरेको बताउनु भएको छ । आफूले निर्वाचित गराएको संस्थालाई खवरदारी गर्ने अधिकारी नागरिकलाई हुने बताउँदै उहाँले सरकारको आलोचना गर्ने नाममा केही तत्वले मुलुकको व्यवस्था विरुद्ध नै आन्दोलन गर्न थालेको जिकिर गर्नु भयो । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले सरकारको आलोचना गर्ने बहानामा लोकतन्त्र र गणतन्त्रलाई खतरामा पार्ने प्रयास भइरहेको बताउनु भयो । कोही कसैले लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्था परिवर्तन गरेर मुलुकलाई अधिनायकवादतर्फ लैजान खोज्छ भने त्यो दिवा सपना मात्रै हुने उहाँको भनाइ छ । काम गर्ने क्रममा सरकारबाट भएका सामान्य कमजोरी र छिद्र तथा जनताको असन्तुष्टिमा खेलेर इतिहासको सबै कुनाबाट पराजित भइसकेको व्यवस्थालाई ल्याउन खोज्नु मुर्खता हुने बाँस्कोटाले बताउनु भयो । ‘अहिलेको व्यवस्था स्थापित गर्न जनताले रगत, आँसु र पसिना बगाउनु परेको थियो,’ उहाँले भन्नु भयो, ‘सबै कुरासँग साटेर ल्याएको व्यवस्था रक्षा गर्न जनताले जानेका हुन्छन् र परिवर्तन गर्न कोही लाग्छ भने त्यसको जवाफ जनताले नै दिनेछन् ।’ नागरिकको अपेक्षा र सरकारको गराईकाबीचमा सधैं खाडल हुने गरेको बताउँदै मन्त्री बाँस्कोटाले सरकारले क्रमस अपेक्षा पूरा गर्दै जाने र लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुने कुरा जनताले बुझिसकेको उल्लेख गर्नु भयो । सरकारले गल्ती गर्दा त्यसको सजाय जनताले दिने भएकाले हुँदै नभएको कुरा झिकेर कुर्लनुको कुतै तुक नभएको उहाँको भनाइ छ । कांग्रेसप्रति लक्षित गर्दै उहाँले जनताको म्यान्डेड लिएर आएका कारण सरकार जनताप्रति उत्तरदायी रहेको बताउनु भयो । नेकपालाई जिम्मेवारी दिएर पठाएका कारण सरकारले कांग्रेसको भन्दा जनताका विकास निर्माण र अन्य मुद्दा उठाउने ताउँदै मन्त्री बाँस्कोटाले कांग्रेसले डेमोक्रेसीका विषयमा उठाएको मुद्दाको कुनै अर्थ नभएको दाबी स्पष्ट पार्नु भयो । राजनीतिदेखि केही पनि तन्त्र स्थापित गर्न बाँकी नरहेका कारण मुलुकमा अब अर्थतन्त्रको जग बसाल्न मात्रै बाँकी रहेको बाँस्कोटाको भनाइ छ । एक अर्को प्रशंगमा उहाँले दशैंकै पेरिफेरीमा २५ वटा फोरजी परियोजना सञ्चालन गर्ने तयारी सरकारले गरेको बताउनु भयो । जनताको ठूलो बलिदानीबाट संविधान आएका कारण सरकारले यस वर्षदेखि संविधान दिवसलाई पर्वका रुपमा मनाउने निर्णय गरेको जानकारी उहाँले दिनु भयो । अरु भन्दा राष्ट्रिय दिवसका रुपमा संविधान दिवसलाई विशेष प्रकारको पर्व भएका कारण हरेक वर्ष असोज ३ गते जनताका घरघरमा विशेष बनेर आउने मन्त्री बाँस्कोटाको भनाइ छ । स्वाभिमान, गौरव, सामाजिक रुपान्तरण, जनताको सुरक्षा, लोकतन्त्रको रक्षा लगायत जनताको बोकेका मुद्दालाई संविधानले स्थापित गरेका कारण संविधान दिवसलाई विशेष पर्वका रुपमा मनाउन सबै लाग्नु पर्नेमा उहाँको जोड छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here