Tune to BFM 91.2|Biratnagar

सशस्त्र प्रहरी निरीक्षकको कोरोनाका कारण मृत्यु

विराटनगर, ९ मंसिर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बूढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा ३३ वर्षीय इन्सपेक्टर नवीन बुढाथोकीको गय राति ११ः२२ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनु भयो । उहाँका अनुसार कोरोना संक्रमणले अवस्था गम्भीर बन्दै गएपछि पछिल्लो समय बुढाथोकीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । बुढाथोकीको घर तेह्रथुमको म्याङ्लुङ् हो । उहाँ भदौदेखि मोरङमा कार्यरत हुनुहुन्थ्यो ।

ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उहाँलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा भोलिपल्ट अर्थात २७ गते रिपोर्ट पोजिटिभ आएको आइसोलेसन प्रमुख देवले जानकारी दिनु भयो । उहाँका अनुसार उपचारका क्रममा सुरुमा केही सुधार देखिए पनि अन्ततः संक्रमित इन्सपेक्टरलाई बचाउन सकिएन । उपचार गराइरहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि सुरुमा आईसीयूमा राखिएको थियो ।

त्यसपछि स्वास्थ्य खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार जारी राखिए पनि जीवितै फर्काउन नसकिएको देवले बताउनु भयो । उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी गरिएको उहाँले बताउनु भयो । १० पटकसम्म रेम्डिसिभिर नामक औषधि पनि चलाइएको देवले बताउनु भयो । कोरोना संक्रमणसँगै सुरुमा अस्पताल भर्ना हुँदादेखि नै फोक्सोमा समस्या देखिएको देवले बताउनु भयो ।

उहाँका अनुसार टाइफाइटको पुरानै समस्या रहेका इन्सपेक्टर बुढाथोकीले त्यसको औषधि पनि नियमित सेवन गरिरहेका थिए । शवको विराटनगरस्थित परोपकार घाटमा आज धार्मिक संस्कार अनुसार अन्त्येष्टिको तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उहाँ अविवाहित रहेको परिवारले जनाएको छ । सशस्त्र प्रहरी वल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले इन्सपेक्टर बुढाथोकीको निधनले सिंगो संगठनलाई क्षति पुगेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button