Tune to BFM 91.2|Biratnagar

फरार सांसद खातुन संसदमा उपस्थित, प्रहरी बेखवर

विराटनगर, १५ जेठ । अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको विषयलाई लिएर फरार बनेकी प्रदेश १ की सांसद गुलेफुन खातुन संसद भवन पस्दा पनि प्रहरीले पक्राउ नगरेको पाइएको छ ।

प्रदेश १ को हिजोबाट सुरु भएको बजेट अधिवेशनमा उपस्थित भएर बाहिरिँदा समेत प्रहरी बेखवर रहयो । प्रहरी सुरक्षा घेरामा रहेको संसद भवन भित्र अदालतले दोषी ठहर गरेको सांसद पस्दा र निस्कँदा पनि प्रहरीले थाहा नपाउनुलाई अश्चर्यजनक तरिकाले हेरिएको छ ।

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा जिल्ला अदालत मोरङले गरेको कैद र जरिवानाको फैसलालाई उच्चले पनि सदर गरिदिएपछि खातुन २०७६ पुसदेखि फरार बनेकी थिइन् । मोहीयानी हक हस्तान्तरणका लागि उनले तत्कालिन कदमाहा गाविसको कागजपत्र र छाप प्रयोग गरेर किर्ते गरेको खुलेको थियो ।

२०७१ माघ २१ र ०७१ चैत ४ गते अलगअलग मितिमा किर्ते सिफारिस बनाएर जग्गा आफ्नो नाममा पार्न खोजेको प्रमाणित भएको छ । जिल्ला अदालतले २०७४ वैशाख ३१ गते खातुनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उच्च अदालतले २०७६ पुस ६ गते यही फैसलालाई सदर गरिदिएपछि उनी फरार बनेकी थिइन् ।

उनी यस अघिका प्रदेश १ का २२ वटा संसद बैठकमा अनउपस्थित रहिन् । तर हिजोबाट सुरु भएको बजेट अधिवेशनमा भने उपस्थित भएको प्रदेश १ संसद सचिवालयका सचिव गोपाल पराजुलीले पुष्टि गर्नु भयो ।

३ बजेबाट सुरु भएको बैठकमा उनी १५ मिनेट जति बसेको स्रोतको भनाइ छ । खातुनलाई दोषी ठहर गरेको कुनै आधिकारिक जानकारी अदालतबाट संसदमा नआएको र सम्बन्धित दलले पनि प्रमाणित नगरेका कारण उनको संसद पद भने यथावत रहेको पराजुलीको भनाइ छ । पराजुलीले यस अघिका बैठकमा भने सभामुखलाई लिखित जानकारी गराएरै खातुन विदामा बसेको जानकारी दिए ।

उनी तत्कालिन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी हुन् । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाकी उनले २०७४ माघ ७ गते प्रदेश १ को प्रदेशसभा सदस्यको शपथ लिएकी थिइन् । तर खातुनलाई सांसद बन्नु भन्दा आठ महिना अघिनै अदालतले फौजदारी कसुरमा दोषी ठहर गरेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले खातुन संसदमा उपस्थित भएको भन्ने जानकारी नपाएका कारण पक्राउ गर्न नसकिएको बताउनु भयो । पक्राउ गर्नका लागि प्रहरीलाई पनि केही प्राविधिक कठिनाई रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button