साफका लागि नेपाली टोली तयार, अन्तिम नामावली सार्वजनिक

0
228

विराटनगर, २३ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । आज छनोट भएका खेलाडीको अन्तिम नामावली अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको हो । साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिनु भयो । प्रशिक्षक खड्का अनुसार निरू थापाको कप्तानीमा नेपाली टोली मैदान उत्रिने छन् । नेपालले पहिलो खेल भुटानसँग प्रतिस्पर्धा गर्नेछ । अहिले नेपालबाट एन्जीला सुब्बा, अजन राना मगर र उषा नाथ गरि ३ जना गोपकिपर छन् । त्यस्तै गीता राना, पुनम जर्गामगर, अमृता जैसी, मनमाया लिम्बु, हिरा कुमारी भुजेल, पूजा राना, कविता धिमाल, र दिपा राई गरि ७ जना डिफेन्डर छन् । यसैगरि रेणुका नगरकोटी, सरू लिम्बु, अनिता बस्नेत, मन्जली योन्जन, सर्मिला थापा मगर, गरि ६ जना मिड फिल्डर छन् । त्यसैगरि रेखा पौडेल, सावित्रा भण्डारी र निरु थापा फरवार्ड छन् । पहिलो पटक नेपालले आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाललाई यसपटक दोहोरो मौका छ । नेपाली महिला राष्ट्रिय टोली अहिले विराटनगरस्थित डिएभी स्कूलको खेलमैदानमा अभ्यासरत छन् । गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रर्दशन गर्दै उपविजेता बनेको टोली उच्च मनोबलमा छ । सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ । इटहरी र काठमाडौंपछि विराटनगरमा आएर प्रशिक्षणमा जुटिरहेको छ । मुख्य प्रशिक्षक खड्का अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रर्दशन हुने दाबी गर्नु हुन्छ । भारतमा भएको खेलका कमजोरीलाई सच्याउँदै साफ च्याम्पियनसिपमा जित्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । यसैबीच यही फागुन २८ गतेदेखि विराटनगरको सहिद रंगशालामा आयोजना हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा आज पत्रकार सम्मेलन गरि साफ च्याम्पियनसिपको तयारी तिव्र गतिमा भइरहेकाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । एन्फाका अध्यक्ष आङ्छिरिङ शेर्पाले पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको र तयारी अन्तिम चरणमा पुर्याइएको जानकारी दिनु भयो । उहाँले नेपाल र नेपालीको इज्जत बढाउने भएको कारण साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताका लागि आउँदो २६ गतेसम्ममा विराटनगरमा खेलाडी र अन्य गरेर करिब ३ सय विदेशी आउने जानकारी दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here