साफ महिला च्याम्पियनसिपबाट माल्दिभ्स बाहिरियो

0
77

विराटनगर, १ चैत । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट माल्दिभ्स बाहिरिएको छ । सहिद रंगशालामा आज भएको खेलमा समूह ‘बी’ मा रहेको श्रीलंकासँग २–० गोल अन्तरले पराजित भएपछि उही समूहको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बनेको छ । आजको खेलमा माल्दिभ्सलाई पराजित गर्न श्रीलंकाकी चलानी इकनायाकेको प्रदर्शन उत्कृष्ट रहयो । उनले गरेको दुई गोलले नै श्रीलंकालाई सेमिफाइनल यात्रा सम्भव गराएको हो । श्रीलंकाको जितमा चलानी इकनायाकेले मध्यान्तर अघि पहिलो र मध्यान्तरपछि दोस्रो गोल गरिन् । ३७ औं मिनेटमा कप्तान इरान्डी लियानाङ्गेको फ्रिकिक प्रहारपछि रिवाण्ड भएको बललाई उनले गोल लाइनबाटै पोष्टको दिशा दिंदा श्रीलंकाले खेलमा अग्रता लिएको थियो । माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले रोक्ने प्रयास गरेको बल रिवाण्ड भएपछि चलानीले मौका पाएकी थिइन । उनैले ५० औं मिनेटमा दोस्रो गोल गरेर श्रीलंकाको जित निश्चित गरिन् । अचला संजिवनी परेराको क्रस पासमा उनले बललाई वानटच जाली चुमाउँदा जित विहीन बन्दै माल्दिभ्स पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपबाटै बाहिरियो । पहिलो हाफसम्म फितलो प्रदर्शन गरेको माल्दिभ्सले दोस्रो हाफपछि केही सुधारिएको प्रदर्शन गरे पनि श्रीलंका सामु उसको केही लागेन । खेलमा श्रीलंकाले पनि पाएका धेरै अवसर गुमायो । माल्दिभ्सको अग्रपंक्ती कमजोर भएका कारण श्रीलंकाले विपक्षीबाट गोलको सामना गर्नु परेन । हिजो समूह ‘ए’ मा रहेको बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएर उही समूहको भुटान प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्स बाहिरिएसँगै एक खेल अघि नै समूह ‘बी’ मा रहेका भारत र श्रीलंका सेमिफाइलन पुगेका छन् । भारत र श्रीलंकाबीच आगामी आइतबार हुने खेलले समूह विजेताको टुँगो लगाउने छ । यस अघि नै सेमिफाइनलमा पुगिसकेका समूह ‘ए’ मा रहेका नेपाल र बंगलादेशबीच भोली हुने प्रतिस्पर्धाले समूह विजेताको छिनोफानो गर्ने छ । समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्ने छ । सेमिफाइनलमा समूह उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नका लागि भोलीको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ । समूह ‘ए’ को उपविजेता टिमले समूह ‘बी’ को विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नु पर्ने छ । खेलपछि माल्दिभ्सका प्रशिक्षक मोहम्मद आतिफले अस्वस्थ खेलाडीका पराजयको नतिजा हात परेको बताए । उनका अनुसार चोटका कारण माल्दिभ्सका मुख्य तीन रक्षक बेन्चमा रहँदा पहिलो खेल भारतसँग पराजित भएको थियो । श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले खेलाडीको उत्कृष्ट प्रदर्शननै जितको कारण भएको बताए । उनले समूह विजेताको छिनोफानोका लागि भारतसँग हुने खेलमा जितको खोजिमा मैदान उत्रिने बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here