साफ महिला फुटबल विराटनगर आइपुगे सबै टिम

0
135

विराटनगर, २६ फागुन । विराटनगरमा आयोजना हुने पाँचौं महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुने सबै विदेशी टिम नेपाल आइसकेका छन् । प्रतियोगितामा सहभागिता जनाउने भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सका खेलाडी टिम आज साँझ विराटनगर आइपुगेका हुन् । नेपाली टोली तीन महिनादेखि नै पूर्व क्षेत्रमै अभ्यासरत छ । नेपाली टोलीको कप्तानी निरु थापाले सम्हाल्दै छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता आयोजनाको जिम्मा मोसफललाई दिएपछि त्यसको तयारी विराटनगरमा पूरा भइसकेको छ । विराटनगरको सहिद रंगशालामा पर्सी मंगलबारबाट सुरु हुने प्रतियोगिता चैत ८ गते सम्म चल्ने छ । प्रतियोगिताको मंगलबार हुने उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने तय भएको छ ।

एन्फाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साफका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । प्रतियोगितामा सहभागी हुने टिम, अफिसियलको आवास, खेल मैदानलगायतको सम्पूर्ण व्यवस्था मिलाइसकिएको एन्फाका प्रवक्ता एवं प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक किरणले जानकारी दिनु भयो । एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले प्रतियोगिताको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ रहेको जानकारी दिनु भयो । उहाँले दर्शकको सुविधाका लागि पानीको बोतल बाहेक हेल्मेट, छाता, डन्डालगायत अन्य वस्तुहरु मैदान भित्र लैजान निषेध गरिएको बताउनु भयो । प्रतियोगिताको लिग चरणका खेलका लागि एन्फाले ३ सय र २ सय दरका टिकट बिक्री गर्ने जनाएको छ ।

पछिल्ला समय नेपाली महिला टोलीले फुटबलमा सफलता प्राप्त गरिरहेको छ । साफमा सबै भन्दा बलियो मानिएको टिम भारतलाई उसैको भूमिमा धेरै समयपछि पराजित गरिसकेका कारण नेपाली टोली उच्च मनोबलमा रहेको मुख्य प्रशिक्षक हरि खड्काले बताउनु भयो । यस पटक घरेलु मैदान, दर्शकको साथ र उच्च तयारीका कारण नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनु भयो । विराटनगरमा अन्तर्राष्ट्रिय खेलाडी र अफिसियलको आगमनसँगै सुरक्षा व्यवस्था मजवुत बनाइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर सुरक्षा व्यवस्था कडा पारिएकोे र सबै ठाउँमा चेकजाँच बढाइसकिएको उहाँको भनाइ छ ।

खेलाडी तथा अफिसियल बसेका होटल, अभ्यास गर्ने मैदान, प्रतियोगिता हुने रंगशाला, आसपासका स्थान, सार्वजनिक स्थलहरु, खेलाडी आवतजावत गर्ने सडकको सुरक्षामा ध्यान दिइएको एसपी केसीले बताउनु भयो । यसअघि नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । पछिल्लो ५ खेलमा बंगलादेशसँग ४ खेलमा जित र एकमा बराबरीको अवस्था रहेको छ भने भुटानविरुद्ध पछिल्लो ५ खेलमै जित निकालेको छ । त्यही भएर पनि भुटान र बंगलादेशसँगको समूह चरणको खेलमा नेपालमा अप्ठेरो नहुने अपेक्षा गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here