Tune to BFM 91.2|Biratnagar

सिँचाईका चालक विराटनगरमा गाडीभित्रै बेहोस भेटिए, नोबेल अस्पताल पुर्याउनसाथ मृत्यु

विराटनगर , २५ जेठ । विराटनगरमा सरकारी गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको छ । आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उहाँलाई आज दिउँसो ३ बजेतिर बेहोस अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो ।

उहाँका अनुसार चालक सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो । उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेका हुन् । राईका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्रै चालक विराटनगर महानगरपालिका–३ मा बेहोस भेटिएका हुन् । घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नै अगाडि पर्छ । डीएसपी राईका अनुसार बेहोस अवस्थामा भेटिएका बेला श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो पाइएकाले मृतकमा कोरोना संक्रमण भए÷नभएको यकिन गर्न पीसीआर परीक्षणको तयारी गरिएको छ ।

उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्नु हुन्थ्यो । डेराबाट गाडी लिएर उहाँ बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको प्रहरीले जनाएको छ । चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button