सिद्धबाबालाई थुनामा राख्ने आदेश माग्दै धर्ना

0
64

विराटनगर, २ माघ । जवरजस्ती करणीको मुद्दा चलाइएका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्ने आदेश हुनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि आज धर्ना दिइएको छ । पीडितका पक्षबाट दिइएको धर्नामा अधिकारकर्मी, अगुवा महिला एवं एनजिओकर्मी सहभागी थिए । उनीहरुले बलात्कार आरोपी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिनु पर्ने माग अघि सारेका छन् । एक महिला अनुयायीले सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी सिद्धबाबा विरुद्ध दिएपछि सुनसरी प्रहरीले उनलाई पक्राउ गरेर जवरजस्ती करणी मुद्दामा मंसिर १६ गतेबाट अनुसन्धान थालेको थियो । उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालत विराटनगरमा पुगेको यही मुद्दाको सुनुवाईका लागि पेसी आजलाई तोकिएको थियो । मुद्दालाई भने एकै पटक सुनवाई गर्नका लागि अदालतले यस अघि नै लगाउमा राखिसकेको छ । जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो । यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन् । एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुद्दा लगाउमा राख्न अदालतले आदेश दिएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here