Tune to BFM 91.2|Biratnagar

सिद्धबाबा पुर्पक्षका लागि जेल चलान

विराटनगर, २० फागुन । एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।

उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाइ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकै दिनदेखि फरार भएका भनिएका उनी आज सुनसरी जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालका अनुसार पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश कार्यान्वयनका लागि गिरीलाई थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो ।

एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोपमा गत मंसिर दोस्रो साता पक्राउ परेका ४६ वर्षीय गिरी जिल्ला अदालत सुनसरीको आदेशमा गत पुस १४ गते तीन लाख रुपैयाँको धरौटीमा रिहा भएका थिए ।

जिल्ला अदालत सुनसरीको आदेशमा रीत नपुगेको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदन परेलगत्तै गिरी पनि सादा तारेखमा रहेर मुद्दाको पुर्पक्ष गरिपाउँ भनी उच्च अदालतमा पुगेका थिए ।

ती दुवै निवेदनमाथि सुनवाइ गर्दै उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै गिरीलाइ पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतमा सो मुद्दाको सुनुवाइ भइरहेका बेला गिरी भने आफ्ना अङ्गरक्षकलाइ सिमानामै छोडेर भारतको जोगबनीतर्फ लागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button