Tune to BFM 91.2|Biratnagar

सिमा जोडिएको झापाका सबै नाकामा उच्च सतर्कता

विराटनगर, २ चैत । कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएपछि भारतसँग सिमा जोडिएको झापाका सबै नाकामा उच्च सतर्कता अपनाइएको छ । झापाको मुख्य नाका काँकडभिट्टासहित भद्रपुर, केचना, कुमरखोद र गौरीगञ्ज नाका खुल्ला रहेपनि नेपाल प्रवेश गर्ने दुवै देशका नागरिकको स्वास्थ्य परीक्षण गरिदै आएको छ ।

झापाका प्रमुख नाकाहरु काँकडभिट्टा र भद्रपुर नाकामा राखिएको हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले भारतबाट नेपाल आउने नागरिकको ज्वरो नाप्ने ‘थर्मल गन’ प्रयोग गरी पंक्तिबद्धरूपमा ज्वरो मापन गरिरहेका छन् ।

भद्रपुर विमानस्थलसहित ६ वटा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । हेल्थ डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल फिर्ता पठाउने तथा तोकिएको स्थानमा पुर्याउन एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो ।

उहाँले सोमबारसम्म मेची अस्पतालमा आइसोलेसन वार्ड समेत स्थापना गरिसकिने जानकारी दिनुभयो । बिहीबार मात्रै काँकरभिट्टाबाट दुई युक्रेनी नागरिकलाई फिर्ता पठाइएको थियो । उनीहरुमा उच्च तापक्रम देखिएपछि नेपाल प्रवेशमा रोक लगाइएको थियो ।

यसैबीच कोरोना भाइरसका कारण भारतले नेपालका सिमानाका आइतबार मध्यरात १२ बजेदेखि बन्द गर्ने समाचार बाहिरिएपछि जनमासमा नाका ठप्प हुने हल्ला फैलिएको छ । तर झापासँग सिमा जोडिएका भारतका सबै नाका खुल्लै रहेको प्रजिअ रानामगरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button