सिविन नेपालको ३२ औ बर्षगाठ

0
128

विराटनगर, ९ मंसिर । बालबालिकाका सवाललाई प्राथमिकता राखेर काम गर्न सके मात्र उनीहरुका समस्या समाधान गर्न सकिने आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । संयुक्त राष्ट्रिय संघीय बाल अधिकार सम्बन्धी महासन्धिको ३० औं बार्षिकोत्सव तथा सिविन नेपालको ३२ औ बार्षिकोत्सव कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन । कार्यक्रममा प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले बालबालिका आमाको पेट देखि नै जोखिममा रहेको बताउनुभयो । गरीबका मात्र नभएर धनीका छोराछोरीहरु पनि विभिन्न प्रकारको कुलतमा फस्ने गरेकाले सबैको साथ र सहयोगले मात्र उनीहरुको भविष्य सुरक्षीत हुने बताउनु भयो । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर यही हिउदे अधिवेशनबाट विधेयक ल्याउने तयारीमा रहेको बताउनु भयो । प्रदेश उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको संरक्षण र सम्बद्र्धनमा सिविनले महत्वपूर्ण भूमिका खेलको बताउदै अझै प्रभावकारी रुपमा काम गर्न सुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै रक्षा किशोरी समूह बुढीगंगा गाउपालिका २ का अध्यक्ष तथा बाल प्रतिनिधि सुस्मिता ऋषिदेवले बालबालिकाको क्षेत्रमा सिविन नेपालले महत्वपूर्ण कार्य गरेको बताउदै बाल प्रतिभालाई अगाडि बढाउन भूमिका खेलेको बताउनु भयो । कार्यक्रममा बालबालिकाको संरक्षण र सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएकाले जिल्ला प्रहरी कार्यालय र पूर्वाञ्चल बाल सेवा आश्रमलाई सम्मान गरेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले अहिले पनि खुला सिमानाका कारण आपराधीक क्रियाकलापमा बालबालिकाको प्रयोग बढेको बताउनु भयो । बालिकाहरु अहिले पनि जर्वजस्ती करणीमा पर्ने गरेको उहाको भनाई थियो । कार्यक्रममा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले नेपालको संविधानमा बाल अधिकारको विषयमा स्पष्ट लेखे पनि कार्यान्वयन पक्ष फितलो रहेको बताउनु भयो । अहिले पनि बालबालिकाहरु आधारभूत आवश्यकताबाट बञ्चित रहेको जानकारी गराउनु भयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय किर्तिपुरका प्राध्यापक तथा सिविन नेपालका कार्यसमिति सदस्य गोविन्द सुवेदीले प्रदेश १ को जनसंख्या ५० लाख रहेको र त्यसमा १८ बर्ष भन्दा मुनिका बालबालिका २० लाख रहेको बताउनु भयो । उहाले बालबालिकाको बिषय विद्यालयको पाठयक्रममै समावेश गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सिविनको ३२ बर्षको लोगो अनावरण गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here