Tune to BFM 91.2|Biratnagar

सीमा नाकाबाट चार हजारको उद्धार

विराटनगर, २७ जेठ । विराटनगरको जोगवनी नाका हुँदै भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने करिब चार हजार जनालाई दुई साताको अवधिमा उद्धार गरिएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि दुवै मुलुकमा लकडाउन जारी रहेसँगै विभिन्न कामका सिलसिलामा नेपालबाट भारत गएका र भारतबाट नेपाल आएकाहरु समस्यामा परेका थिए । दुवै मुलुकले जेठ दोस्रो सातबाट आफ्ना नागरिकको उद्धार गर्न थालेका हुन् ।

त्यस क्रममा भारतमा अलपत्र रहेकाहरु जेठ १३ गतेदेखि जोगवनी नाका हुँदै नेपाल भित्रन थालेका थिए । नेपालमा रहेका भारतीयहरु जेठ १४ बाट आफ्नो मुलुक फर्कन थालेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार लकडाउनसँगै दुवैतर्फ फसेकाहरुलाई उद्धार गर्ने क्रममा नेपालबाट भारततर्फ जानेको सर्वसाधारणको संख्या धेरै रहेको छ ।

हालसम्म विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी)बाट भारततर्फ दुई हजार दुई सय ७० जना सर्वसाधारणलाई पठाएको छ । जसमा एक हजार आठ सय तीन जना पुरुष र चार सय ६७ महिला रहेको राईले बताउनु भयो । उहाँकाअनुसार जोगवनी नाका हुँदै हिजो साँझसम्ममा एक हजार सात सय चार जना नेपाल फर्किएका छन् ।

जसमा एक हजार चार सय ६० पुरुष र दुई सय ४४ महिला छन् । भारतबाट नेपाल फर्किएकाहरुलाई उद्धार गर्दै होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ । जोगवनी नाका हुँदै विराटनगर प्रवेश गरेकाहरु मध्ये प्रदेश १ का बढी छन् भने केही पश्चिम नेपालका पनि छन् ।

लकडाउनका कारण लामोसमयदेखि सीमामा फसेकाहरुलाई दुवै राष्ट्रको अन्तर जिल्ला समन्वयका क्रममा जेठ १३ गतेबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button